काठमाडौँ – भारतको अयोध्यामा राम मन्दिरको उद्घाटनको दिन नजिकिँदा नेपाली पुजारी दुर्गाप्रसाद गौतमको चर्चा चुलिएको छ । झापाको मेचीनगरका गौतम राम मन्दिरका मुख्य आचार्य हुन् ।
उनी अहिले मन्दिरमा रामको मूर्तिको प्राण प्रतिष्ठा हुने र त्यससँग जोडिएका सम्पूर्ण विधि–विधानको तयारीमा व्यस्त छन् । मन्दिरको मूल पुजारी सत्येन्द्र दास भए पनि आचार्यले दैनिक पूजाआजा र आरती गर्ने गर्ने गरेका छन् ।
मन्दिरको भूमिपूजन र शिलान्यास समेत गराएका उनी २०२० अप्रिल १८ देखि मन्दिरको मुख्य आचार्यका रूपमा कार्यरत छन् ।
वाराणसीको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट वेद विषयमा आचार्य उनले अयोध्यास्थित श्रीराम वेद विद्यालयमा विज्ञापन निस्केपछि प्रतिस्पर्धा गरेर अयोध्याको यात्रा थालेका थिए ।
तर राम जन्मभूमि र बाबरी मस्जिद रहेको विवादित भूमिबारे भारतको सर्वोच्च अदालतले २०२० नोभेम्बर ९ मा राम जन्मभूमिको पक्षमा फैसला गर्यो । त्यही फैसलाका आधारमा गठित ट्रस्टले मन्दिरमा संस्कृत र वेदका ज्ञातालाई राख्नुपर्ने आवश्यकता महसुस गरेर मन्दिरको मुख्य आचार्यको जिम्मेवारीमा समेत जोडेको हो ।
श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायले दुर्गाप्रसाद गौतमलाई औपचारिक रूपमा पत्र लेखेरै प्राण प्रतिष्ठाको विधि विधान र पूजामा संलग्नताका लागि आग्रह गरेका थिए । जनवरी २२ मा हुने यो भव्य समारोहको पनि उनी नै मुख्य आचार्य रहेका छन् ।
७०० भन्दा बढिलाई निम्ता दिइएको र सके जति भव्य बनाउन प्रयास गरिएको यो समारोहका एक एक तयारी अहिले चर्चामा छन् । निकै आकर्षक यो मन्दिरका खम्बाहरूमा समेत भगवानका आकृतिहरू कुदिएका छन् ।
३८० फिट लम्बाई,२५० फिट चौडाइ र १६१ फिट उचाइको यो मन्दिरमा ३ तला रहेको छ । एक तलाको उचाइ करिब २० फिट छ भने मन्दिरमा ३९२ स्तम्भ र ४६ ओटा ढोका छन् । जसमध्ये ४२ ओटा त स्वर्णद्वार नै बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया