अहिले सामाजिक सञ्जालमा भाइरल भएको मेलोडी हो ‘मोय’ ‘मोय’ ।
यो मेलोडी प्रयोग गरेर भिडियो मिम्स र रिलबारे जताततै भेटिन्छन् भने सामाजिक सञ्जाल चलाउने अधिकांश यसबारे जानकार पनि छन् ।
तर धेरैले यो किन भाइरल भइरहेको छ ? यसको अर्थ के हो ? भन्ने विषय भने धेरैलाई थाहा छैन ।
२०२३ मा सबैभन्दा चर्चित मिम्स मेलोडी बनेको ‘मोय’ ‘मोय’ खासमा सर्वियन गीत हो भने गायिका टिया डोरा हुन ।
झट्ट सुन्दा ‘मोय’ ‘मोय’ नै सुनिए पनि गीतमा प्रयोग भएको शब्द भने ‘मोजे’ ‘मोरे’ हो । जसको नेपालीमा अर्थ हुन्छ ‘मेरो समुन्द्र’ ।
९ महिनाअघि ‘जुज्नी भेटार’ नामक यूटुब च्यानलबाट सार्वजनिक भएको यो गीतले तीन महिना खासै चर्चा पाएन भने भ्युज समेत १० लाख कटेको थिएन ।
तर भारतबाट भाइरल हुन थालेको यो मेलोडी पछिल्ला दुई महिनामा मिक्स तथा भिडियो रिल बनाउन सबैभन्दा बढी प्रयोग गरिएको छ ।
डोराको गीति एल्बम ‘डि– जानुम भित्र समावेश भएको यो गित अहिले ११ करोडभन्दा धेरैले हेरिसकेका छन् भने यसको मेलोडीमा करिब २३ करोडभन्दा धेरै मिक्स तथा भिडियो रिलहरू बनेका छन् ।
चर्चाको क्रम हेर्दा नयाँ दिल्लीको फतेनगरमा कपडाको व्यवसाय गर्दै आएकी जस्मिन कौरले दुई महिना पहिले यो संवाद बोलेकी थिइन् ।
‘डिजाइन मेशिन मूड कट’ नामको एक कपडा पसल सञ्चालन गर्दै आएकी उनले नयाँ कपडाको विज्ञापन गर्ने उद्देश्यले भिडियो बनाइन् ।
पहेँलो रङको कुर्ता सुरुवाल लगाएकी कौरले काँधको सलवार स्याहार्दै ऐनामा हेरेर भनेकी छन्, ‘इट्स सो ब्युटीफूल, सो एलिगेन्ट, जस्ट लुकिङ लाईक वाउ, जस्ट लुकिङ लाइक वाउ ।’
त्यसपछि यसमा प्रयोग भएको ‘मोय’‘मोय’ को मेलोडी एकाएक भाइरल भयो । अझ रोचक त उनले बोलेको डायलग पनि सन् २०२३ मा दोस्रो सर्वाधिक चर्चित मिक्स बनेको छ ।
यसको अर्थ गीतको शब्द र मिम्ससंग कुनै सम्बन्ध नभई नै यो मेलोडी भाइरल बनिरहेको छ । जबकि गायिका डोराले गीतमार्फत प्रेममा धोका पाएपछि महसुस हुने पीडाहरू व्यक्त गर्न खोजेकी छन् ।
भिडियोमा आफूले आँखा बन्द गरेर विश्वास गरेका पात्रहरूले कुनै न कुनै मोडमा गएर धोका दिँदा रहेछन् भन्ने आशय नै गीतको समग्र निष्कर्ष देखिन्छ ।
‘मोय’‘मोय’ खास गरी विश्वभरका महिलाहरूबिच संवादको यो लाइन चर्चित छ । साना बच्चादेखि उमेर ढल्किसकेका वृद्धासम्मले नयाँ पोसाक लगाएर यही वाक्य दोहोराउँदै भिडियो रिल बनाएको पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया