मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अपराध

बम्जनको घरबाट प्रहरीले भेट्टायो ३ करोड बढी रकम, ‘लिटिल बुद्ध’ भनिएका उनी को हुन्?

काठमाडौँ– कुनै बेला लिटिल बुद्ध भनी चर्चा कमाएका तपस्वी रामबहादुर बम्जन पाँच वर्षदेखि गुमनाम थिए । उनलाई मंगलवार प्रहरीले पक्राउ गरेपछि फेरि उनी चर्चामा आएका छन् ।

तपस्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका बम्जनलाई पाँच वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले बूढानीलकण्ठबाट पक्राउ गरेको हो । प्रहरी उनको घर पुग्दा बम्जन दोस्रो तलाबाट हामफालेर भाग्न खोज्दै गरेको प्रहरीले जनाएको छ ।

बम्जनको निगरानीमा २५ जना प्रहरी परिचालन गरिएको हुनाले उनी भाग्न नपाएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले बाहिर र भित्र सबैतिरबाट घेरा हालेर पक्राउ गरेको हो ।

प्रहरीले यसअघि नै उनलाई पक्राउ गर्न खोजे पनि उनी सम्पर्कविहीन भएका थिए ।

उनी सम्पर्कविहीन भएपछि उनको खोजीमा सीआईबीको टोली २०७७ असार ४ गते तालीम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रममा छापा मारेको थियो ।

त्यो बेलासमेत प्रहरी रित्तो हात फर्किएको थियो ।

बाराको रतनपुरी गाउँ नजिकैको बनबाट तपस्या शुरु गरेका बमजनले पछिल्लो दशकमा मुलुकको विभिन्न ठाउँमा आश्रम बनाउँदै आफ्नो बासस्थान समेत फेर्ने गर्थे ।

आफूलाई लिटिल बुद्ध बताउने उनको बाराबाहेक सिन्धुपाल्चोक, लमजुङ र सर्लाही जिल्लामा समेत आश्रम रहेको प्रहरीले जनाएको छ ।

बम्जनले सिन्धुलीको कमलामाई नगरपालिका– ८, पैरेनीस्थित २० रोपनीभन्दा बढी क्षेत्रफलभित्र सुविधासम्पन्न आश्रम बनाएका थिए । आश्रमभित्र उनले आफ्ना लागि छुट्टै दरबारसमेत निर्माण गरेका थिए ।

बम्जनको आश्रममा छिरेका प्रहरी अधिकारीका अनुसार, उनले आफ्ना लागि आश्रमभित्र स्वीमिङ पूल, जिमखानादेखि अन्य धेरै निजी सुविधा सम्पन्न हल निर्माण गरेका थिए ।

यस्तै उनले आश्रमका चारै नाकामा उनले निजी सुरक्षा चेक पोस्टसमेत राखेका थिए । यतिबेला बम्जनलाई पक्राउ गरेर महाराजगञ्जस्थित ब्यूरोको कार्यालयमा राखिएको छ ।

पक्राउ परेका ‘तपस्वी’ बम्जनको घरमा खानतलासी गर्दा प्रहरीले ३ करोडभन्दा बढी रुपैयाँ समेत बरामद गरेको छ। बम्जनलाई पक्राउ गरेपछि सीआईबीसहित प्रहरीको टोलीले बुढानीलकण्ठको हात्तीगौँडास्थित घरमा छापा मारेको थियो ।

छापा मार्दा ३ करोड ३० लाख ७५ हजार रुपैयाँ बरामद भएको सीआईबीले जानकारी दिएको छ। उनको घरबाट १५ वटा मोबाइल, ल्यापट र ३० वटाभन्दा बढी पेन ड्राइभ पनि बरामद भएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ । बम्जनले आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोप छ ।

त्यही आरोपको तीन वर्षपछि सर्लाही प्रहरीमा पीडितका परिवारले किटानी जाहेरी दिएका थिए । जाहेरीपछि पनि पक्राउ नपरेका बम्जनलाई जिल्ला अदालत सर्लाहीले हाजिर हुन भन्दै त्यहीबेला ३५ दिने म्यादसमेत दिएको थियो । तर, म्याद नाघ्दा पनि बम्जन अदालतमा हाजिर भएनन् ।

सर्लाही अदालतले २०७६ माघमा पहिलोपटक उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । र त्यसबेलादेखि प्रहरीले उनलाई खोजिरहेको थियो ।

को हुन् बम्जन?

बमजनको जन्म सन् १९९० को एप्रिल १० तारिखमा रतनपुर बारामा भएको थियो । उनका मातापिता किसान थिए ।

उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो। उनका ५ छोरा र ४ छोरी छन् । रामबहादुर बमजन तेस्रो छोरा हुन् ।
उनले कलिलो उमेरमै ध्यानमा मग्न भएर सबैलाई आश्चर्यचकित बनाएका थिए ।

सन् २००५ मा मध्य तराईको बाराको एकान्त बनमा एक ठूलो पीपलको बोट मुनि ध्यान गरिरहेका कलिला रामबहादुर बमजनले एकाएक चर्चा बटुलका थिए ।

उनको अन्तर्राष्ट्रिय स्तरमा चर्चा भएको थियो ।

सेतो रङको पातलो कपडा लगाएका उनको शरीर स्थिर थियो । आँखा बन्द थियो । र उनी ध्यानमा लीन थिए । त्यसअघि कसैले नचिन्ने किशोर एकाएक विश्वप्रसिद्ध बन्न पुगे।

सुरुमा आसपासका स्थानीयबासी उनलाई हेर्न बाराको बनमा गए । त्यसपछि अन्य देशका तीर्थयात्री पनि आउन थाले । उनी बनमा ध्यानमा बसेको एउटा तस्वीर सोही वर्ष ’भाइरल’हुन गयो ।

उक्त तस्वीर नेपालमा मात्र नभएर विश्वकै ध्यान खिच्न सफल भयो । रोचक कुरा त के थियो भने उनी खाना नखाई ध्यान बसेको भनेर प्रचार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?