मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उच्च रक्तचापबाट बच्न डा‍. ओममूर्ति अनिलका पाँच सुझाव 

उच्च रक्तचापमा औषधिको प्रयोग जुनसुकै व्यक्तिका लागि पनि सहजै स्वीकार्य हुँदैन । यसका कारणहरूमध्ये औषधिको साइड इफेक्टको डर, लामो समयसम्म निरन्तर प्रयोग गर्ने झन्झट, आर्थिक भार, बानी पर्ने डर, अरूले के भन्ला भन्ने पीर आदि प्रमुख मानिन्छन् ।

औषधि खाने वा नखाने निर्णय गर्नुभन्दा पहिला दुइटा कुरामा होश पुर्‍याउन जरुरी हुन्छ । पहिलो, अहिले नै औषधि खानुपर्ने भइसकेको हो कि होइन ? दोस्रो, के म जीवनशैली र अन्य माध्यमले रक्तचापलाई निरन्तर नियन्त्रणमा राख्न सक्छु ? पहिलो प्रश्नको उत्तर डाक्टरले विभिन्न जाँचको आधारमा दिन सक्छ भने दोस्रो बिरामीको अनुशासन र आत्मविश्वासमा भर पर्छ ।

सामान्य रक्तचाप, उच्च रक्तचाप र औषधिको सेवन गर्ने सबैले यी ५ उपायहरू अवलम्बन गरेमा फाइदा निश्चित हुन्छ ।

१. दैनिक १ घन्टा हिँड्नु

सामान्य व्यक्तिले पनि प्रतिदिन आधा घन्टा (३ किलोमिटर) हिँड्नुपर्छ भने रक्तचापलाई थप नियन्त्रणमा राख्न १ घन्टा हिंड्नु जरुरी हुन्छ । दैनिक प्रशस्त गतिविधिले रक्तचापलाई ५–१० मि.मि. अफ मर्करीसम्म घटाउन मद्दत गर्छ, जुन १–२ चक्की

औषधि सेवनको बराबर हुन्छ । रक्तचाप जति बढी छ, उति नै बढी हिँड्नु फाइदाजनक मानिन्छ । गाह्रो व्यायामले रक्तचाप बढाउन सक्छ ।

रक्तचाप नियन्त्रणमा नभएका व्यक्तिलाई हिँड्नु नै सर्वोत्तम उपाय मानिन्छ । हिँड्दा अलि छिटो—छिटो, स्वाँस्वाँ हुनेगरी र हल्का पसिना आउनेगरी हिँड्नु राम्रो मानिन्छ । विस्तारै हिँडेमा पनि फाइदा अवश्य नै हुन्छ । तपाईंले हिँडेको प्रत्येक पाइलाले रक्तचापमा सकारात्मक असर गर्ने कुरालाई सम्झी आफ्नो फुर्सतको समयलाई हिँड्नमा सदुपयोग गर्नुपर्छ । हिँड्ने बेलामा शरीरमा उत्पन्न हुने हार्मोन/रसायन आदिले मुटु र रक्तनलीमा सकारात्मक असर गरेर रक्तचाप घटाउन मद्दत गर्छ ।

२. स्वस्थ आहारको सेवन

खानामा फलफूल, सागसब्जी, सलाद आदिको प्रयोग बढी गर्नु र चिल्लो/गुलियो र नुनिलो खानाको प्रयोग कम गर्नाले ५ देखि १० मि.मि. अफ मर्करीसम्म रक्तचाप घट्न सक्छ । मासुको प्रयोग कम र माछाको प्रयोग बढी गर्नु र रेसादार खानाको प्रयोग बढी गरेमा रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ ।

खानामा नुनको प्रयोग कम गर्नु रक्तचाप घटाउने प्रभावकारी उपाय मानिन्छ । तर नुनको अत्यन्तै कम प्रयोग गर्नु वा खाँदै नखानु उल्टै हानिकारक हुन सक्छ । जीवनका लागि नुन (सोडियम) अत्यन्तै आवश्यक मानिन्छ । एउटा व्यक्तिमा रक्तचाप बढ्ने धेरै कारण हुन सक्छन्, तर नुन मात्रै कम गरेर रक्तचाप नियन्त्रण गर्नु पक्कै बुद्धिमानी होइन । नुनको कम प्रयोग हुनु अनिवार्य हो ।

यसका लागि खानामा नुन कम प्रयोग गर्नु, नुन नथप्नु र रेडिमेड खानाहरूको प्रयोग नगर्नु आवश्यक हुन्छ । डब्बामा प्याक गरिएका अधिकांश खानामा नुनको मात्रा बढी हुन्छ । नुनको कम प्रयोगले रक्तचाप नियन्त्रणसँगै मुटुका अन्य समस्याबाट पनि बचाउँछ । कुनै—कुनै खाना नुनिलो नभईकन पनि सोडियम बढी भएको हुन्छ । त्यसैले घरबाहिरको खाना कम खानु र वनस्पतिबाट प्राप्त हुने प्राकृतिक खानामा नुन कम हाली खानु नै सर्वोत्तम उपाय हुन सक्छ ।

३. मोटोपना घटाउने

मोटो व्यक्तिलाई उच्च रक्तचापको सम्भावना बढी हुन्छ । मोटो व्यक्तिको रक्तचापलाई नियन्त्रण गर्न पनि कठिन हुन्छ । व्यक्तिको तौल र रक्तचापको सिधा सम्बन्ध भएको रिसर्चले पुष्टि गरिसकेको छ । १० किलोग्राम तौल घटाएमा रक्तचाप पनि औसतमा १० मि.मि. अफ मर्करीले घट्छ, जुन २ वटा औषधिको प्रयोग बराबर हुनसक्छ ।

तपाईंको तौल बढी छ भने चिकित्सकको सल्लाहअनुसार ६ देखि १२ महिनामा ५–१० किलोग्राम वा अहिलेको तौलको १० प्रतिशतले घटाउनु अत्यन्तै उपयोगी हुनसक्छ । २–४ किलोग्राम तौल घटाएमा पनि रक्तचापको राम्रो नियन्त्रण हुनसक्छ । तौल घटाउन कम क्यालोरी भएको खाना खानु र शारीरिक गतिविधि बढी गर्नु जरुरी हुन्छ, जसले फेरि रक्तचाप घटाउन मद्दत गर्छ ।

४. मदिरा र चुरोटको सेवनमा रोक

अत्यधिक मदिराको सेवनले रक्तचाप बढाउँछ र यसको नियन्त्रणमा प्रतिकूल असर पार्छ । रक्तचाप र मदिरा सेवनको सिधा सम्बन्ध देखिन्छ । जति बढी मदिरा (जुनसुकै प्रकारको) त्यति नै धेरै रक्तचाप । अर्को डरलाग्दो सम्बन्ध मदिराको सेवन, उच्च रक्तचाप र मस्तिष्कघात (ब्रेन हेमोरेज) बीच देखिन्छ ।

नेपालमा उच्च रक्तचाप र मदिरा सेवन गर्नेहरूको संख्या बढी छ । रक्तचाप नियन्त्रणमा नभएका व्यक्तिले अत्यधिक मदिराको सेवन गरेमा मस्तिष्कमा रक्तस्रावको खतरा अत्यन्तै बढी हुन्छ । त्यसैले उच्च रक्तचाप भएकाले मदिरा सेवन नगर्नु उचित हुन्छ । नियन्त्रणमा भएकाले पनि कहिलेकाँही मात्रै ५० एम.एल. ह्विस्की, १०० एम.एल. वाइन वा २०० एम.एल. बियरभन्दा बढी प्रयोग गर्न मिल्दैन । अत्यधिक मदिरा सेवन गर्नेहरूले यसको प्रयोग बन्द गरेमा रक्तचाप घट्छ र औषधिको प्रयोगबाट पनि बच्न सकिन्छ ।

चुरोटको सेवनले रक्तचाप बढाउँछ, प्रत्येक खिल्ली चुरोटले १ मि.मि. अफ मर्करी रक्तचाप बढाउँछ । चुरोटको सेवनले रक्तचापको औषधिको प्रभावलाई पनि निस्क्रिय पार्छ । सामान्य व्यक्तिले पनि एउटामात्र भए पनि चुरोटको सेवन गर्न मिल्दैन । उच्च रक्तचाप भएका र औषधि सेवन गर्नेहरूले त झन् यथाशीघ्र पूर्णरूपमा चुरोट त्याग्नु बुद्धिमानी हो । अन्यथा कुनै दिन त्यही चुरोट ह्दयाघातको कारण बन्न सक्छ । चुरोट/मदिराको सेवन बन्द गर्ने बित्तिकै रक्तचाप नियन्त्रण हुनथाल्छ र औषधिको प्रयोगबाट पनि बच्न सकिन्छ ।

५. मानसिक तनावमा कमी

आजभोलि प्राय: युवाहरूमा (४० वर्षमुनि) रक्तचाप अचानक बढ्ने गरेको देखिन्छ र यसको सबभन्दा प्रमुख कारण नै मानसिक तनाव मानिएको छ । देशमा व्याप्त राजनीतिक र सामाजिक परिस्थितिले युवाहरूको स्वास्थ्यमा प्रतिकूल असर पारेको देखिन्छ । यस्तो अवस्थामा प्रत्येक व्यक्ति, परिवार संस्थाका जिम्मेबार व्यक्तिहरूले तनावको वातावरणलाई न्युन गर्न प्रयासरत हुनुपर्छ ।

व्यक्तिले सर्वप्रथम आफैंबाट सुरुवात गर्नुपर्छ । स्वभाव र काम गर्ने शैलीमा परिवर्तन गर्न जरुरी छ । आफूलाई परिस्थिति अनुकूल बनाउनु जरुरी हुन्छ । रिसलाई कम गर्न सिक्नुपर्छ । तनाव कम गर्न आफूलाई उपयुक्त हुने तरिका अपनाउन सकिन्छ । तनावको कारणले बढेको रक्तचापका लागि प्राय: औषधि खानु पर्दैन, कहिलेकाहीं छोटो अवधिका लागि औषधि प्रयोग गरे पनि तनाव घटेपछि औषधि पनि बन्द गर्न मिल्छ ।

उच्च रक्तचाप त कुनै न कुनै दिन हामी सबैलाई हुन्छ नै, उमेरसँग रक्तचाप बढ्नु एउटा स्वाभाविक प्रक्रिया हो । जीवनशैलीमा आवश्यक परिवर्तन ल्याएमा रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ । औषधिको प्रयोग समयमै गरेर, माथि उल्लेखित उपायहरू अपनाएमा औषधिको मात्रा घटाउन सजिलो हुन्छ । पछि रक्तचापमा राम्रो सुधार देखिएमा चिकित्सकको सल्लाहअनुसार औषधि बन्दसमेत गर्न मिल्छ ।

डाक्टरओममूर्तिअनिल डटकमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?