काठमाडौँ – ट्राफिक नियम पालनालाई अझ कडाइ गर्न काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले प्रविधि विकासमा जोड दिन थालेको छ ।
यसैका लागि ट्राफिक नियम उलङ्घन गरेका सवारीसाधन पहिचान गर्न काठमाडौँका थप तीन ठाउँमा नम्बर प्लेट पहिचान गर्न सक्ने क्यामेरा जडानको काम अघि बढाएको हो ।
कार्यालयका अनुसार अब नयाँ बसपार्क, मूनी भैरव र महाराजगन्ज क्षेत्रमा यस्ता क्यामरा जडान गरिने छ ।
यस्ता क्यामरालाई अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपीआर ) सिस्टमको क्यामेरा भनिन्छ भने यसले बाटोमा गुडिरहेका सबै सवारी साधनको गति मापन गरिरहेका हुन्छन् ।
तोकिए भन्दा बढी गतिमा सवारी चलाएको छ वा ट्राफिक नियम उलङ्घन गरे त्यसको जानकारी जानकारी ट्राफिक प्रहरीको कन्ट्रोल रुमको ‘सिस्डक सेभ’ नामक प्रणालीमा जम्मा भएर बस्छ ।
जसले ट्राफिक प्रहरीको अनुपस्थितिमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाहीमा ल्याउन सहज हुने काठमाडौँ उपत्यका प्रहरी कार्यालयका सूचना अधिकारी दिनेशराज मैनाली बताए ।
यसले ट्राफिक जनशक्ति र समयको समेत बचत हुने कार्यालयले अपेक्षा लिएको छ ।
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा भइरहेको यो कार्यक्रम अन्तर्गत यसअघि नै कोटेश्वर, महालक्ष्मीस्थान र धोबीघाट क्षेत्रमा यस्ता अत्याधुनिक क्यामेरा जडान भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया