महाभारतका अनुसार द्रौपदी पाञ्चाल देशका राजा द्रुपदकी छोरी हुन् । उनी पञ्चकन्या मध्ये एक हुन् । उनलाई चिर–कुमारी पनि मानिन्थ्यो कृष्णेयी, यज्ञसेनी, महाभारती, सैरंध्री, पाञ्चाली, अग्निसुता आदि अन्य नामबाट पनि उनी परिचित छिन् ।
द्रौपदी जब विवाह योग्य भइन् उनका पिताले उनको स्वयंवर आयोजना गरे । उक्त आयोजनामा अर्जुनले ब्राह्मणको भेषमा भाग लिए र माछाको आँखामा तिर हानेर स्वयंवर जिते ।
त्यस बेला अर्जुनका पाँच दाजुभाइ आफ्नी आमा कुन्तिको साथमा ब्राह्मण भेषमा बस्ने गर्दथे ।
उनीहरूले भिक्षा लिएर आउँथे र सबै माता कुन्तिलाई दिने गर्दथे । माता कुन्ति उक्त भिक्षा पाँचै भाइलाई बराबर भाग लगाइदिन्थिन् ।
जब स्वयंवर पछि अर्जुन र भीम द्रौपदीलाई लिएर घर आए । उनीहरूले माता कुन्तिलाई भने, ‘माता कुन्ति ! हामीले भिक्षामा आज के लिएर आएका छौँ बाहिर आउनुहोस् त !’
माता कुन्ति भित्र काममा व्यस्त भएकाले बाहिर नआई भित्रैबाट भनिन्– ‘जे ल्याएका छौ, पाँचै भाइले मिलेर उपभोग गर ।’
पाँच पाण्डव माताको आदेश सदैव पालना गर्दथे । सोही आदेश अनुसार द्रौपदी पाँच भाइकी पत्नी बन्न पुगिन् ।
यस्तै, एक दिन राजा द्रुपदले एक सभा आयोजना गरे । जसमा महाऋषि ब्यास र श्रीकृष्ण उपस्थित भएका थिए । राजाले एक स्त्रीको पाँच श्रीमान् हुनु धर्मको विपरित रहेको बताए ।
यसमा महाऋषि व्यासले भने– ‘द्रौपदीको पूर्वजन्ममा भगवान शिवसँग पाँच पति पाउने वर मिलेको थियो, त्यसैले यसलाई अनर्थ मान्नु जरुरी छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया