मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पत्रकार दिपा दाहालको ‘कोभिडः नसोचेको–नभोगेको संकट’ पुस्तक विमोचन

काठमाडौं – पत्रकार तथा लेखक दिपा दाहालको ‘कोभिडः नसोचेको–नभोगेको संकट’ पुस्तक विमोचन भएको छ । शनिबार काठमाडौंको कमलादीमा आयोजित एक कार्यक्रममा डा सन्दुक रुइत, गणेश रसिक र मानवअधिकारकर्मी मोहन अन्सारीले पुस्तकको संयुक्त रूपमा विमोचन गरेका हुन् ।

दाहालले सन् २०१९ देखि नेपालमा फैलिएको कोरोना महामारीमा गरेको स्थलगत रिपोर्टिङको अनुभव र थप अध्ययन गरी महामारीको समग्र प्रभाव संक्षेपमा अभिलेख राख्ने क्रममा पुस्तक लेखेको बताइन् । पुस्तकमा कोरोना महामारीका कारण चीनको वुहान विथोलिएको प्रसंगदेखि, नेपालमा कोरोना रोकथाम तथा नियन्त्रण कार्य प्रभावकारी नहुँदा स्वास्थ्य, शिक्षा, अर्थतन्त्र, पर्यटन, कृषिलगायत क्षेत्रमा परेको प्रभाव समेटिएको उनको भनाइ छ।

महामारीका बेला देखिएको सरकारको लापरवाही, बेथिति, बद्समासी, भ्रष्टाचार, अनियमितता, कालोबजारीलगायत विषय पनि पुस्तकमा समावेश गरिएको छ । महामारीबाट प्रभावित र संक्रमितहरूको जीवन जोगाउन चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षकर्मी, स्वयम्सेवकलगायतले गरेको योगदानबारे पनि दाहालले पुस्तकमा उल्लेख गरेकी छन् ।

‘यो पुस्तक कोरोना महामारीको प्रभावको अभिलेख मात्रै होइन,’ उनले भनिन्, ‘आगामी दिनमा यस्ता महामारी फैलिएमा सरकार वा सरोकारवाला निकायले कहाँ कहाँ ध्यान दिनुपर्छ भन्ने सिकाइ पनि हो ।’

पुस्तकका विशेषज्ञ सल्लाहकार डा. अनुप सुवेदी हुन् । डा. सुवेदीले महामारीको समयमा हरेक देशका आ–आफ्नै समस्या भए पनि नेपाल राजनीतिक किचलो र भ्रष्टाचारमा गिजोलिएको बताए । ‘कोभिड महामारीका लागि विश्वका कुनै पनि मुलुक तयार थिएन । यस्तोमा प्राविधिक, व्यवस्थापकीय समस्या तथा गडबड हुन स्वाभाविक हो । तर नेपालको स्वास्थ्य क्षेत्रमा मिसिएको राजनीतिक चलखेल अस्वाभाविक थियो,’ डा. सुवेदीले भने, ‘यस्तोमा सरकार पक्षबाट नकारात्मक टिप्पणी गर्दै सकारात्मक पाटोबारे उल्लेख नगरेको गुनासा आए ।’ कोरोना महामारीको तेस्रो लहर टरिसक्दा पनि नयाँ आउने स्वास्थ्य संकटबारे सरकारको तयारीका विषयमा अझै प्रश्न गर्ने स्थान रहेको उनले बताए ।

पुस्तकको विज्ञ समीक्षकको रूपमा प्रस्तुत भएका डा. अर्जुन कार्कीले दाहालद्वारा लिखित पुस्तकले महामारीका बेला राज्यसंयन्त्र कति भद्रोगोल रहेछन् भन्ने पुष्टि गर्ने एक दस्ताबेज भएको बताए । कोभिडको समयमा आएको एक तथ्य उल्लख गर्दै भने, ‘ग्लोबल हेल्थ इन्डेक्समा अमेरिका, यूकेबाहेकका देश तम्तयार नभएको देखिए पनि महामारीको समयमा सोही देशको पनि हालत देखियो । यद्यपि, नेपालको स्वास्थ्य अवस्थालाई भने उदांगो पारिदियो ।’

बारबारा फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले फाउन्डेसनले सामाजिक क्षेत्रका लागि छुट्ट्याएको फन्डमार्फत ‘स्वास्थ्य शिक्षा’ पुस्तकलाई स्थान दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?