बेलबारी ’मोरङ’ – मोरङका किसान लगातार रुपमा तेजपात मूल्य घटेपछि किसान निराश भएका छन् । उत्पादन बढे पनि अघिल्लो वर्षको तुलनामा कम मूल्य पाएको किसानको गुनासो छ । तेजपात पूर्वी नेपालको व्यापार घाटा कम गर्न सहयोगी बन्दै आएको निर्यातजन्य कृषि उत्पादन हो ।
मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवीका नगेन्द्रकुमार खाण ठकुरीले एक सयभन्दा बढीको सङ्ख्यामा तेजपातका झाङ लगाएका छन् । वर्षमा एक पटकमात्र काट्न मिल्ने तेजपातको उत्पादनका हिसाबले कम मूल्य पाएको उनले बताए । ठकुरीले करिब १४ वर्षअघि लगाएको उक्त झाङले चार वर्षअघिदेखि उत्पादन दिन थालेका हुन् ।
तीन वर्षसम्म प्रतिकेजी रु ५० मा बिक्री गरेको तेजपात गत वर्ष रु ४० मा बिक्री गरिएको ठकुरीले जानकारी दिए । “एउटा रूखमा १५ देखि २० किलोसम्म सुकेको तेजपात उत्पादन हुन्छ”, उनले भने, “सय रूखबाट वार्षिक ५० हजारसम्म कमाउन सकिन्छ ।” ठकुरी जस्तै केराबारी–२ का देवीबहादुर ठकुरी र अटल सिंह राईले पनि तेजपातको व्यावसायीक खेती गर्दै आएका छन् । यहाँ उत्पादित तेजपात केराबारी, लेटाङ बजार र सुनसरीको धरानमा बिक्री हुने गरेको राईले बताए ।
विगत दश वर्षयता तेजपातको खरिद–बिक्री गर्दै आएका लेटाङका लोकहादुर लिम्बूले भने “नेपालमा प्रशस्त मसला उद्योग खुलेकाले तेजपातको भारततर्फ निकासी घटेको छ । भारतीय व्यापारीको तुलनामा नेपाली व्यापारीले कम मूल्य दिने गरेकाले किसानले उपयुक्त मूल्य नपाएका हुन् ।” नेपाली तेजपातको माग स्थानीय बजारमा उच्च रहेको उनको भनाइ थियो ।
मोरङका उत्तरी भेगका पहाडी पालिका र धनकुटा, पाँचथर र इलाम जिल्लाका दक्षिणी गाउँको सम्पूर्ण उत्पादन लेटाङमा सङ्कलन हुने गरेको छ । लेटाङसँग पहाडी गाउँको सडक सञ्जाल जोडिएपछि तेजपातका व्यापारी मोरङको लेटाङ र केराबारी बजारमा काँटा थापेर बसेका छन् । तेजपात नेपालका मसला उद्योग र भारततर्फ निकासी हुने गरेको छ ।
केराबारी–२ सिंहदेवीमा तेजपात सङ्कलन गरी लेटाङ बजारमा बिक्रीका लागि आएकी देवी ठकुरीले तेजपातको व्यावसायिक उत्पादन हुन थालेको बताइन । उत्तरी मोरङका धेरै किसानले खेतबारीमा तेजपात लगाएको उनको भनाइ थियो ।
विराटनगर भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा विराटनगर भन्सार कार्यालयबाट रु आठ करोड ५७ लाख ३० हजार मूल्य बराबरको एक हजार दुई सय ७५ मेट्रिक टन तेजपात भारत निकासी भएको थियो । चालु आर्थिक वर्षको मङ्सिरसम्ममा रु दुई करोड ८१ लाख छ हजार मूल्य बराबरको चार सय मेट्रिक टन तेजपात निर्यात भएको छ ।
नेपालको महाभारत पर्वतीय शृङ्खलामा समुद्री सतहबाट एक सय मिटरदेखि दुई हजार पाँच सय मिटर उच्च क्षेत्रमा तेजपातको रूख हुने गरेको छ । यो एक सदाबहार ठूलो झ्याम्म परेको रूख हो । यसको पातको माथिल्लो सतह चिल्लो, चम्केको र तल्लो सतह फुस्रो हुन्छ । यसको वर्षमा एकपटक असोजदेखि चैतसम्म रूखको हाँगाहरू भाँचेर झिकिन्छ । हरेक हाँगाबाट तेजपात सङ्कलन गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया