काठमाडौं – अहिले हरकोहीलाई कम्मर दुख्ने समस्या छ । यो समस्या हरेक व्यक्तिले कुनै न कुनै बेला भोगेकै हुन्छन् । नेपालमा करिब ७० प्रतिशत मानिसलाई कम्मर दुख्ने समस्या रहेको विज्ञहरु बताउँछन् । कम्मर दुख्ने समस्या ठूलै चिन्ता लिनुपर्ने विषय होइन, तर हेलचेक्राइँ पनि गर्नुहुँदैन ।
कम्मर दुख्ने कारण धेरै छन् । बसाइको पोजिसन नमिल्दा, मोटोपन हुँदा, एउटै पोस्चरमा लामो समय बसिरहँदा, भारी सामान उचाल्दा, हड्डी कमजोर हुँदा, धैरै व्यायाम गर्दाजस्ता कम्मर दुख्छ । यस्तै शरीरमा क्याल्सियम र भिटामिन डी कमी भएमा, दुर्घटनामा परी मेरुदण्ड भाँच्चिएमा पनि कम्मर दुख्ने समस्या हुन्छ ।
कम्मर जोकोहीलाई दुख्न सक्छ, यद्यपि ३५ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई अलि बढी यो समस्याले सताएको पाइन्छ । धेरै झुकेर, निहुरेर, कुर्सीमा लगातार बसेर काम गर्नेहरुमा यस्तो समस्या धेरै देखिन्छ ।
टेबलमा बसेर काम गर्दा ढाडको पोस्चर थप बिग्रिने वा भार पर्ने भएका कारण मेरुदण्डको पछाडि भएका मांसपेशी कमजोर भएर कम्मर दुखाइ महसुस हुन्छ । जसलाई मेडिकल भाषामा पस्चुरल ब्याक पेन भनिन्छ ।
नसर्ने महामारीको रूपमा देखा परिरहेको कम्मर दुखाइ नशा च्यापिएको कारणले पनि हुन सक्छ। नशा च्यापिनु आफैँमा कुनै रोग नभएर ढाडको हडेडी, डिस्क, लिगामेन्ट, मांसपेशी तथा नशाको कमजोरीले गर्दा उत्पन्न हुने यान्त्रिक समस्या हो। नशा च्यापिने समस्यालाई बुझ्न, ढाड तथा मेरुदण्डको रचना र क्रियालाई बुझ्न जरुरी छ।
के छ उपचार ?
ढाड-कम्मर दुखाइ कम गर्न दैनिक जीवनशैलीमा परिवर्तन ल्याउने, वजन कम गर्नेदेखि व्यायाम गर्नुपर्ने र औषधिको पनि सेवन गर्नुपर्ने हुन सक्छ। लामो समयसम्म यी विधि प्रभावकारी नभएमा शल्यक्रिया समेत गर्नुपर्ने हुन सक्छ।
आधुनिक उपचार पद्धतिमा प्लेटलेट रिच प्लाजमालाई डिस्कहरुको बीचको भागमा सुईको माध्यमा राखेर उचार गर्न सकिन्छ। तोकिएको रेडियोफ्रिक्वेन्सीमार्फत पनि यसको उचार गर्न सकिन्छ भने सम्बन्धित नसाहरुलाई सुईको माध्ययमबाट शिथिल बनाई दुखाइ कम गर्न सकिन्छ वा सम्बन्धित क्षेत्र लठ्याउने इपिड्युरल इन्जेकसन तथा मेरुदण्डको रहेको स्नायु तन्तुको उत्तेजनालाई समेत स्थुल पार्न सकिन्छ।
फ्यासेट जोर्नी दुखाइको लागि जोर्नीमा इन्जेकसन र डिस्क चिप्लिएर नसा च्यापिएको लागि ओजोन थेरापी गर्दै आएका छौं। यी विधिहरू नेपालमा पहिलो पटक लागू गरिएको हो। यी विधिहरू अत्यन्त प्रभावकारी हुन्छन्, कुनै जोखिम छैन, लाभदायक, कम लागत, सरल र सामान्यतया केही घण्टाभित्र डे केयर आधारमा गरिन्छ।
के कुरामा ध्यान दिने
नियमित रूपमा व्यायाम गर्ने बानी बसालौँ।
लामो समयसम्म कुर्सी तथा टुलमा झुकेर नबसौँ। बस्दा उपखुट्टी लगाएर वा शरीरको एक भागलाई मात्र दबाब दिएर नबसौँ, एउटै पोजिसनमा लामो समयसम्म रहने व्यक्तिमा यो समस्या हुन्छ।
सामान वा भारी वस्तु उठाउँदा सावधानी अपनाऔँ।
अग्लो हिल जुत्ता वा चप्पल प्रयोग नगरौँ।
उकाली ओराली गर्दा, सिँढी चढ्दा सावधानीपूर्वक बिस्तारै हिँडौँ।
अगाडि झुकेर सामान उठाउनु पर्दा कम्मरबाट नझुकौँ।
खोक्दा वा हाच्छियुँ गर्दा भित्ता वा टेबलको सहायता लिऔँ।
शरीरको तौललाई आफ्नो उचाइअनुसार नियन्त्रणमा राखौँ।
गद्दा, फोम जस्ता नरम ओछ्यानमा सुतौँ। स्प्रिङ भएको लचकदार झोलुंगे ओछ्यान बढी आरामदायक भए पनि ढाडका लागि राम्रो होइन।
सुत्दा सिधा सुत्ने बानी बसालौँ। घोप्टो र कोल्टेभन्दा उत्तानो सुत्नु नै ढाडका लागि राम्रो होतकिया काँधको चौडाइ बराबर अग्लो भए ढाडका लागि राम्रो मानिन्छ।
लामो समयसम्म उभिरहने वा बसिरहने नगरौँ।
ड्राइभिङ गर्दा सिटलाई अलि अगाडि सारेर बस्ने गरौँ।
कम्मर वा गर्धन दुख्ने समस्या भएकाहरूले मोटरसाइकल नचलाऔँ। हिँड्दा ढाडको बेल्ट वा घाँटीको कलर लगाऔँ।
हिँड्दा बुढो मान्छे जस्तो कुप्रेर होइन, बहादुरजस्तो छाती तन्काएर हिँडौंँ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया