मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिरामीले औषधिका रुपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा विज्ञकाे जोड

 
चिकित्सकको सिफारिसका आधारमा बिरामीले औषधिका रुपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । मंगलबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ‘नास्ट’ले आयोजना गरेको ‘गाँजाको औषधिजन्य गुण र त्यसको सामाजिक प्रभाव’ विषयक विज्ञान संवादमा सो कुरा उठाइएको हो । 

काठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्स, फार्मेसी विभागका प्रा. डा. पन्ना थापाले मेडिकल जाँच गर्ने क्रममा गाँजाको प्रयोगबाट ठिक हुने प्रमाणित भए बिरामीमा  प्रयोगका लागि  सिफारिस गरिने भएकाले बिरामीले पनि औषधिका रूपमा गाँजा प्रयोग गर्न पाउनुपर्ने र सोहीअनुसार कानुनी व्यवस्था गरिनुपर्नेमा जोड दिएका हुन् । 

“बिरामीले औषधिका रूपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा विज्ञहरूको जोड छ । मेडिकल जाँच गर्ने क्रममा गाँजाको प्रयोगबाट ठिक हुने प्रमाणित भएको अवस्थामा बिरामीलाई प्रयोग गर्न सिफारिस गर्ने गरिन्छ, धेरैजसो देशले औषधिका रूपमा प्रयोग गर्नपाउनु पर्छ भनेर पैरवी गरेका छन् तर हामीले २० वर्षभन्दा मुनिका लागि भने प्रयोगमा अनुमति दिनुहुँदैन”, उनले भने । 

प्रा.डा. थापाले गाँजा विशेष किसिमको वनस्पति भएको र  नेपालमा अहिलेसम्म तीन प्रकारको गाँजा पाइने उल्लेख गर्दै चीनबाट सुृरु भएको गाँजाको प्रयोग अहिले निद्रा नलाग्दा र एन्जाइटीमा प्रयोग गर्न सकिने धारणा व्यक्त गरे । उनले शक्तिशाली देशले गरिब देशलाई कमजोर बनाएर राख्ने रणनीतिअनुरुप औषधीय गुणलाई बेवास्ता गर्दै गाँजालाई बन्देज गरिएको छ भने । नेपालकै इतिहासमा पनि विसं १९७३ भन्दा अगाडि यसलाई औषधीयरूपमा प्रयोग गरेको पाइन्छ भन्दै डा. थापाले गाँजाको टुप्पोदेखि जरासम्म सबै उपयोगमा आउने र यसलाई राम्रोसँग नियमन गर्न सके आर्थिक उपार्जनको माध्यम बन्नसक्ने जानकारी गराए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा रमेशचन्द्र पौडेलले गाँजाको प्रयोगसम्बन्धी तीन सय वर्षको इतिहास भेटिने उल्लेख गर्दै गार्मेन्ट र टेक्सटाइलमा पनि कच्चा पदर्थका रूपमा प्रयोग गर्न सकिने देखिएको जानकारी गराए ।  “नास्टका उपकुलपति प्रा. डा. दिलीप सुब्बाले गाँजा उत्पादन, उपभोग, प्रशोधन र बजारीकरणको विषय पेचिलो बनेको र नीति निर्माण तहमा विवादास्पद विषय बनेको धारणा व्यक्त गरे । उनले सबै पक्षलाई केलाएर वैज्ञानिक, सामाजिक र मानवीय पक्षलाई ध्यान दिएर अगाडि बढ्नुपर्नेमा जोड दिए । नीति र कानुन निर्माणमा ठोस सहयोग पुगोस् भन्ने धारणा व्यक्त गर्दै सरकारमा लाभदायक देखिनेगरी प्रतिवेदन पेस गर्न सकिने अपेक्षा गरे । 

गाँजासम्बन्धी नीति–नियमबारे चर्चा गर्दै बौद्धिक सम्पत्ति केन्द्र नेपालका कार्यकारी निर्देशक अधिवक्ता राजकुमार सुवालले मनीप्लान्टको सट्टामा घरको कोठाभित्र गाँजा रोप्न सक्यौँ भने हावामा कार्बनडाइअक्साइडलाई शुद्धीकरण गर्न सकिने  धारणा व्यक्त गरे । उनले कानुनीरूपमा बन्देज गरिएका देशमा मेडिकल क्षेत्रमा एक वर्षमा पनि चार सयभन्दा बढी बिरामीलाई गाँजा प्रयोगका लागि सिफारिस भएको पाइएको धारणा व्यक्त गरे । 

गाँजासम्बन्धी भएका अनुसन्धान र हालसम्मको उपलब्धिबारे  प्रस्तुतिकरण गर्दै नास्टका वैज्ञानिक डा. सजनलाल स्याउलाले कुन खालको गाँजा कुन उपचारमा उपयोगी हुन्छ भन्ने कुरा अनुसन्धान गर्न आवश्यक छ भने । कुन औषधिमा के प्रयोजनका लागि गाँजा प्रयोग हुन्छ भन्ने अनुसन्धान पनि आवश्यक भएको धारणा व्यक्त गर्दै उनले यसको प्रयोगलाई व्यवस्थित गर्न र दुरुपयोगलाई निरुत्साहित गर्न कसरी नियमन गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिएर नीति–निर्माण गर्नुपर्नेमा जोड दिए । 

हेम्प उद्योगका प्रबन्ध निर्देशक गणेश ऐडीले गाँजासम्बन्धी आर्थिक पक्षबारे चर्चा गर्दै अहिलेसम्म ऐन–नियममा  भएका छिद्रलाई  टेकेर काम गर्नुपर्ने बाध्यता छ भने । नेपालको ५२ जिल्लामा यसको खेती गर्न सकिने उल्लेख गर्दै उनले यसबाट ४० लाख किलो रेसा र २० लाख किलो दाना उत्पादन गर्न सकिए पनि हाल चार लाख ५० किलोमात्रै रेसा र दाना उपलब्ध हुने गरेको छ भने ।

गाँजा क्षेत्रमा कार्यरत अनुसन्धानकर्मी, संघसंस्था, मन्त्रालय सबैलाई एकै थलोमा ल्याई, गाँजासम्बन्धी नेपालमा भइरहेको कार्यक्रमबारे जानकारी गराउने उद्देश्यका साथ आयोजित विज्ञान संवादमा विभिन्न क्षेत्रका विज्ञहरूले आ–आफ्ना धारणा व्यक्त गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?