काठमाडौँ– नेपाल एयरलाइन्स (नेवानि_ का वरिष्ठ पाइलट दीपु ज्वार्चन न्यारोबडी जहाज ए३२० मोडलको जहाजका लागि ‘डेजिगनेटेड चेक पाइलट (डीसीपी) को लाइसेन्स पाउने पहिलो नेपाली बनेका छन् ।
अहिले नेपालमा नेपाल एयरलाइन्स र हिमालय एयरसँग ए ३२० जहाज छन् । हिमालयमा विदेशी पाइलट नै प्रशिक्षकका रूपमा कार्यरत रहँदा नेपाली नागरिकका रूपमा ज्वार्चन यस्तो लाइसेन्स पाउन सफल भएका हुन् ।
‘यसका धेरै प्रक्रिया हुन्छन्, उहाँले ती प्रक्रिया पार गर्दै आफूलाई डीसीपीका लागि योग्य बनाउनु भयो,’ नेवानीका प्रवक्ता ज्ञानेन्द्र भूलले भने – ‘नेपालमा दर्ता भएका वायुसेवा कम्पनीमा कार्यरत पाइलटहरू मध्ये यस्तो लाइसेन्स पाउने उहाँ पहिलो पाइलट हो ।’
उनलाई मङ्गलवार यसका लागि योग्य घोषित गरिएको हो । यससँगै अब ज्वार्चनले प्राधिकरणले लिने ए३२० का पाइलटहरूको परीक्षा लिन र त्यसको जाँच गर्न पाउने छन् ।
ज्वार्चन प्रशिक्षक पाइलट समेत हुन् । प्रशिक्षक पाइलटको भूमिका तालिम दिनेसम्म हुन्छ भने परीक्षा लिन र त्यसको परिक्षणको काम गर्न डीसीपी नै हुनुपर्ने थियो ।
योसंगै नेपालमा डीसीपी नहुँदा विदेशी परीक्षक पाइलटबाट यस्तो काम गराउनु पर्ने समस्या समेत हटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया