‘महाजात्रा’सँग ढुक्क छन् प्रदीप

काठमाडौँ– निर्देशक प्रदीप भट्टराई नेपाली फिल्म वृत्तका भाग्यशाली निर्देशकका रुपमा परिचित छन् । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको महसञ्चारले उत्पादन गरेका टेलिफिल्ममा लामो समय मुख्य सहायक निर्देशकको अनुभव संगालेका प्रदीपले ‘जात्रा’बाट फिल्म निर्देशनमा पाइला चाले ।

डेब्यू फिल्मबाटै ‘सुपरहिट’को स्वाद चाखेका उनले त्यसपछि प्रदर्शनमा आएका फिल्म ‘जात्रै जात्रा’, ‘शत्रु गते’, ‘महापुरुष’बाट पनि सफलताको स्वाद चाखे । अहिले उनी नेपालका चर्चित सफल निर्देशकका रुपमा गनिन्छन् ।

निर्देशक भट्टराई आगामी चैत ९ गतेबाट ‘जात्रा’ श्रृंखलाको तेस्रो सिक्वेल ‘महाजात्रा’ लिएर दर्शकमाझ आउँदैछन् ।

गत कार्तिक १५ गतेदेखि छायांकनमा गएको यो फिल्मले ५० औं दिनमा ‘इन्डक्ल्याप’ गरेको छ । अघिल्ला दुई संस्करणका फिल्ममा विपिन कार्की, रवीन्द्र झा, रविन्द्रसिंह बानियाँ र वर्षा राउतलाई अभिनय गराएका प्रदीपले यसपटक ‘महाजात्रा’मा हरिवंश आचार्यलाई जोडेका छन् ।

हरिवंशले यसअघि प्रदीपका अघिल्ला फिल्महरु ‘शत्रु गते’ र ‘महापुरुष’मा अभिनय गरिसकेका छन् । प्रदीप ‘जात्रा’ श्रृङ्खलाबाट सफलताको ‘ह्याट्रिक’ गर्न चाहन्छन् ।

प्रदीप आफ्ना ‘जात्रा’का दुई संस्करणभन्दा ‘महाजात्रा’ले अझ बढी सफलता पाउने दाबी गर्छन् । ‘अघिल्ला दुई जात्राभन्दा अझ राम्रो किसिमले फिल्म चल्छ र सफल हुन्छ भनेर नै हामीले स्क्रिप्ट लक गरेका हौं’, उनी भन्छन्, ‘यसपटक हरिवंश दाई पनि जोडिनुभएको छ । त्यसकारणले अझ बढी मेहनत गरेका छौं ।’

प्रदीपकै लेखन रहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, रविन्द्र झा, राजाराम पौडेल, दिव्य देव, गौमाया गुरुङ, शिशिर बाङ्देल, प्रवीण खतिवडा, सुमन कार्कीलगायतको अभिनय छ ।

प्रदीपका अनुसार फिल्मको शूटिङका क्रममा हरिवंश र विपिनले ३२ टेकसम्म लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?