‘जीवन क्वाँच हो, र मृत्यु पनि क्वाँच ! क्वाँच शब्दको परिभाषा ‘ह्वाँङ्ग हो’ दर्शनमा मात्र पाइन्छ । भने रामदाइले ।’
हामी गुलगुलन्द दहमा स्नानादी गर्दै थियौं ।
गुलगुलन्द दह गोदावरी जाने बाटोमा दाहिनेपट्टि भर्खरै बनेको जीपेवल बाटोबाट दुई माइलभित्र पर्दछ । असलमा त्यस दहको नाम ‘गुलन्द दह’ हो । तर त्यसका खन्वेषक रामदाइको भनाइ छ क्या क्वाँच नाउँ ! हामीले एउटा गुल थाप्नै पर्दछ । अनि पो क्वाँच राम्रो । गाउँलेहरू जेसुकै भनून्, हामी त्यसलाई गुलगुलन्द दह नै भन्छौं ।
भिजेको अपारदर्शी कट्टु लगाएका, गेरुवा तौलिया यसो ओढी टोपलेका रामदाइ रामानन्द हमाराज देखा पर्दछन् । र, हामी उनका चेला । भुँडी उनको बढेको होइन, तर उनको सामयिक हाँसोमा एउटा ज्वारभाटा लहरिन्छ । आकाशको चन्द्रमा गुलगुलन्द दहमा प्रशान्त महासागर झैं झझल्किन्छ । हामी जुनियर जीवनको विशाल छायामा जीन–दा–दिल बनिसकेका छौं ।
काठमाडौं हामीबाट आठ माइलले पछाडि परिसकेको छ । आठ माइल भनेको सभ्यताको बाटोको क्वाँच काल हो । यति नगिच र यति टाढा?
म आजैमात्र मुडिएको रामदाइको चेला । यसभन्दा अघि दीक्षा पाइसकेका आनन्द तथा कौशल्यायन दुई चेला त्यहाँ छन् पनि ।
मैले सोधें – ‘यो हवाङ्ग भनेको के हो?’
‘क्या क्वाँच प्रश्न? तिमीले यसलाई कम्युनिस्ट चीनको नदी भन्ठानेको?’ म चिनी बन्धु जत्तिकै पहेंलो भएँ । मेरा अनुहारमा निश्चय पनि त्जभ नचभबत ीभबउ ँयचधबचम को परिणाम झुल्क्यो होला । रामानन्द महाराजको भुँडीमा ज्वारभाडा आयो । मैले अलि दृष्टिमा फोकस बटुलें । आफूलाई सतहमा उत्रेको अनुभव गरें ।
असलमा क्वाँच शब्द महान् छ, त्यत्तिकै महान जत्तिको ॐ छ हाम्रा लागि । ॐ हाम्रो धर्म, संस्कृति र दर्शनमा एकनास प्रयोग गरिन्छ । रामदाइ क्वाँचलाई त्यत्तिकै महानताका साथ प्रयोग गर्दैैछन् ।
एउटा नमूना दिन्छु । नुहाउँदा नुहाउँदा हामी हरिटाट भइसकेका थियौं भोकले । रामदाइले भने, ‘जाऊँ, मेरा परिचित छन् यहाँ गाउँमा । गएर दही चिउरा खाऊँ ।’
यहाँ गाउँ भनेको तीन माइल भोको पेट र जुनिएरको टन्टलापुर छहारी रहेछ । बाँकटे हान्दै पुग्यौं ।
‘यै हो?’ रामदाइ सोध्छन् आनन्दलाई ।
‘यही हो जस्तो लाग्दछ’, आनन्द भन्छ ।
(मानौं, बुद्धले आनन्दलाई सोधेको होवोस्)
उनी त्यहाँ नआएको दुई वर्ष भइसकेको रहेछ । ढुंगे भ¥याङ उक्लिन्छौं हामी । भित्र भीडभाड छ । गाउँघर नै भेला मानौं । हामी सशंकित हुन्छौं । एक सेता वस्त्रादिधारी पुरुष देख्दा हाम्रो सपनाको दही च्यूरा त्यसै ढाडिन्छ ।
‘ओहो! पाल्नुस्, पाल्नुस्, गज्जबको समयमा आउनुभयो । खबर गर्नुपर्ने हो, तर दुर्भाग्य सकेनौं, तपाईं आइपुग्नुभयो । कस्तो देवी अनुकम्पा ! हामीहरू भेटघाट हुनैपर्ने आज ।’
रामदाइका ओठमात्र चल्दछन्, शब्दहीन । तर, हामी तीनैजना ओठ स्पन्दन ज्ञानमा माहिर बुझ्यौं, त्यसबाट निस्केको वाक्य – ‘क्या क्वाँच मौकामा आइएछ ।’
‘यहाँ त केही क्वाँच भएजस्तो छ, आज तेह्र दिन कि पैंचालिस दिन पर्याजस्तो छ ।’, हामी आपसमा फुसफुसायौं ।
दही च्यूरा त क्वाँच भो भो, अब रहे–सहेका जुनियरको तागत पनि क्वाँच होला जस्तो हुन लाग्यो ।
टेरिलिजनको शर्ट र प्यान्ट तथा कालो बोटाईमा एक मूर्ति निस्कन्छ आँगनमा । हामी नियोन साइन र बोटाईबाट क्वाँच भएर गुलगुलन्त तथा पहाडको खोंचमा पुगेका । यो देख्दा चारै जनाको आँखा विशेष अर्थ बोकी जुध्छन् । सुकुल ओछ्याइन्छ । सतरन्जा ल्याइन्छ । र हामी जुत्ता खोली राजीनामाको आवेशमा थचक्क बस्दछौं । जस्तो क्वाँच भएपनि नभोगी अब धर छैन ।
कुरा उप्काउँछन् रामदाइ । कुरा गर्न कोही उनीसँग सिकोस् ।
उहाँ भन्नुहुन्छ – आज क्वाँच गरम् भएर हामी तल गुलगुलन्दमा पौडी खेल्न आएका । दिनभरि नुहाइरह्यौं । अब त्यहाँसम्म आएर यहाँ आइएन भने त राम्रो नहुने भयो । तपाईहरूलाई भेट गर्न मात्र आएको, नाता सम्बन्ध च्वाट्ट कसरी बिर्सिन्छ र, होइन त?
‘ठीक भन्नुभयो ।’ जुगानजुगको मुनिमी बोझ बोकेको चश्माहीन एक अनुहार अग्रसर हुन्छ । ‘भगवानको कत्रो कृपा ! आज यस्तो अवसरमा सबै नाता कुटुम्ब तथा परिचितले सघाउ गर्ने बेला तपाईहरूलाई यहाँ पु¥याइ छाडे उनले । तपाईहरू त्यहाँसम्म आएर पनि यहाँ नआउनु भएको भए ठूलो चित्त दुख्ने हामीलाई । हामीलाई थाहा भएको भए, अघि नै मान्छे कुदाइसक्थ्यौं ।’
‘त्यो त कस्तो क्वाँच हुने रहेछ, होइन त?’ गुरु रामानन्द महाराजले हामीतिर मुखाभिमुख भई प्रश्न गरे । जोहो सो, टाउको हल्लाउनुभयो ।
दीर्घ–दीक्षित अन्य संगती चेलाहरूले के अर्थमा हो कुन्नि सही थापिहाले – ‘त्यै त ।’
मैले चाहिँ बुझ्न सकिन गुरुको महानवाणीमा अर्थ कुन चाहिँ प-यो तलमध्येः
१) जुनियर जीनको सिसी लडाएर निर्धक्क साथ यौन परिचर्चा गरिरहँदा खलल पर्ने हुनाले क्वाँच अथवा,
२) अहिलेको नाटकीय समस्याको समाधान अघि नै हुने तथा त्यसकै निर्णयअनुसार यत्रो परिभाट खेल्नु नपर्ने क्वाँच ।
संगत नपाएको आफ्नो विगत जीवन उपर मलाई रिस उठ्यो ।
मुनिमी हाम्रा कण्ठस्थलबाट हे हे हे हे का रुपमा कोरियो । मैले पनि निशब्द आफ्नो दाँत देखाइदिएँ । त्यसबेला कसो कसो मलाई ठहिटीको सम्झना हुन पुग्यो – ‘यहाँ दाँतको काम राम्रो हुन्छ ।’
र साइनबोर्डमा सिर्फ दाँतका पंक्ति । मैले आफूलाई साइनबोर्ड पो ठान्न पुगेको अनुभव गरें । च्वाट्ट ओंठको घोप्टे लगाइदिएँ ।
‘हे हे हे हे’ रामदाइले टेप रेकर्डर बजाएजस्तो लाग्यो । अनि उनले बिस्तारै सोधे – ‘आज के को क्वाँच हूल यो?’
‘आज सत्यनारायणको पूजा ।’
‘हे हे हे हे, कस्तो साइतमा आइएछ ।’
‘पूजा सिद्धिएको छैन ।, अब शुरु हुन लाग्यो । दिउँसो गर्ने भनेको तुलबुली मिलाउँदा–मिलाउँदै झमकक भइहाल्यो ।’
‘हे हे हे हे, कस्तो क्वाँच परेछ हगि?’
‘ज्यू ।’
‘म त अरु नै केही भन्ठानेको । विहावारीत्यादि ।’
‘होइन हजुर, आज अक्षय तृत्तीयाः त्यसैले ।’
‘त्यही त भन्छु ! यत्रो भीडभाड, यत्रो क्वाँच केही नभइ त हुँदैन । बा, कहाँ?’
अनि रामदाइ हामीबाट अलग हुन्छन् । रामदाइका साथमा मुनिमजी पनि जानुहुन्छ । हामीलाई ओथारो दिन बोटाई मात्र बाँकी रहन्छन् । र, अँ, रहन्छ परिवार नियोजन लागू नभएका यस गाउँ पञ्चायतको सम्पूर्ण उत्पादन ।
कति केटाकेटी? मानौं, यो सुरम्य, सौमनस्य, शान्त, स्निग्ध, सुवासित वातावरणमा सूर्योदय नहुञ्जेल यहाँका बासिन्दाको काम एकमात्र छ – प्रजा फैलिऊन् ।
हाम्रो राष्ट्रिय गानको त्यो चाहिँ वाक्य मात्र कसरी क्वाँच टिपेको तिनीहरूले?
कसैको नाक बसिरहेको छ त, कसैको आँखा । कसेका हातमा खटिरा छ त, कसैको खुट्टामा झिंगाको भतेर मानौं । र, यसो हात हल्लाउँदा एक हुल झिंगा जो थुप्रिन्छः
ती अत्तासिएर टेरिलिनका शरण जाँदा रहेछन् । टेरिलिन एकैछिनमा मखिबुट्टे ढाका बन्दा कस्तो क्वाँच राम्रो देखिने । त्यो पनि एक अनुभव हो ।
तर कसरी निस्तेज भएर त भएन । गुरु नुहँदैमा चेलाहरूको अस्तित्व पनि रहँदैन? यत्रा छाउरीबाट घेरिएर, यसरी बोटाईको फोक्सोमा परेर पनि हाम्रो क्वाँच बसिरहने? भएन । भएन । बा, यो त हुँदै भएन ।
‘ठाउँ त साह्रै रमाइलो रहेछ, हगि भाइ?’
‘ज्यू, अत्यन्त स्मरणीय छ । वायु स्वच्छ, वातावरण शान्त तपोभूमि भयो ।’
बोटाईबाट संस्कृत–प्रधान यस्तो नेपाली निस्कँदा भेन्ट्रोलो किस्टको सम्झनाले हामी झस्क्यौं । यो चमत्कार त अकल्पनीयः अचिन्तनीय !
हाम्रो अनुहारमा निश्चय पनि आश्चर्य झल्क्यो होला ।
बोटाई बोल्यो – इन्ट्रेस्टिङ र पिस लिभिङ छ हैन त?
अटोमेटिकल्ली हाम्रो हेडले नाइँ ग-यो ।
‘तर कहिलेकाहीं एक्कासी पिकनिकमा आउँदा मात्रै रमाइलो हुने हो, नत्र त सारै बोर छ, कमसेकम यहाँ बस्नेलाई ।’
एक त हामीलाई बोटाई र टेरिलिन शर्टको प्रचारबाटै वाक्क भइसकेको थियो, दोस्रो यो टेरिलिन मस्तिष्क देखेर मलै आफूलाई सम्हाल्न सकिन । भनिहालेछु – ‘बाबुले कति पढ्नभएको छ? कलेजमा हो कि?’
यो प्रश्न साह्रै क्वाँचको मनोवैज्ञानिक हुने पुगेछ । एक त मैले बाबु भन्ने सम्बोधन गरें – अर्थात् तिमी अझै क्वाँच केटाकेटी छौ । दोस्रो मैले भनिदिएँ, कलेजमा अर्थात बिएभन्दा मुनि नै ।
तेस्रो सम्पूर्ण वाक्यको सारांश थियो, हामी क्वाँच परिपक्व ।
यो पैंतीस उँभो र पैचालीस उँधो उमेर साह्रै क्वाँचको उमेर हुँदोरहेछ । साह्रै दशगजे बूढाहरूको अगाडि तरुनो हुन मन लाग्ने र तरुनोहरूको अगाडि बूढो । (र यसको ठीक उल्टो एक अर्को पनि क्वाँच छ – बूढीहरूको अगाडि अनुभव – आकांक्षी र तरुनीहरूको अगाडि अनुभवदाता ।) अर्थात्, जोहो सो, हेपिन नचाहने ।
पन्ध्र–बीस फिट पर रामदाइ आँगनको फलैंचामा बासँग पारिवारिक विचार, विमर्शमा होमिएको हामी देखिरहेछौं । उहाँको मुखमा अहिले शर्लक–होम्स–पाइपमा क्याबिन ए सुर्ती इञ्जिनका धुवाँको मुस्लोमा निस्किरहेछ । हामीलाई थाहा छ, यो धुवाँको रुमल्लोद्वारा आफ्नो स्वासबाट फुस्किहाल्ने गन्धको बचाउ उहाँ गरिरहनुभएको छ ।
‘हे हे हे हे !’ रामदाइको पाइप हाँसो हामीकहाँ प्रसारित हुन्छ ।
‘हे हे हे हे !’ हामीमात्र के कम? हामीपनि हाँसिदिन्छौं, चाहे सन्दर्भ जेसुकै होओस् ।
अनि तीनैजना छर्लङ्गै हुन्छौं हामी किन हाँस्यौं भनेर । र, तीनैजनाको विभिन्न प्रतिक्रिया हुन्छ ।
म भन्छु – ‘बाबुले त यही स्कुल बनाएपनि हुन्छ हगि? यत्तिका बच्चा रहेछन् ।’
आनन्द भन्छन् – ‘क्यामेरा हेर्न मन लाग्यो?’ र, एउटी केटीलाई गालामा औंलाले छुन्छन् ।
कौशल्यायन भन्छन् – ‘हेर हेर, नाकमा फोहोर ।’
तथापि तीनैजनाको मनमा ठेकीको दही र ढिकीको च्यूरा सलबलाइरहेछ ।
साँझ झमक्क भइसक्यो । आशा बिस्तारै डुब्न थाल्या । बिस्तारै हामी छर्लङ्ग हुनुअगाडि यहाँबाट गुड बाइ गर्न पाए पो त । नत्र त क्वाँच हुने भयो । फेरि ६ आँखा जुद्छन् ।
मुनिमजी आइपुग्दछन् । उनले हाँस्दा अनुहारमा माकुराको जालो ढ्याम्मै दृष्टिगोचर हुन्छ । त्यसरी अनुहारमा चाउरी पारी कमै मान्छे हाँस्न सफल छन् यो संसारमा । अनुहारभरि फैलिएको त्यस्तो हाँसोले दर्शकलाई झिंगामा परिणत गरिदिन्छ । त्यहाँ अल्झिन तम्तयार पर्खेको झिंगाको रुपमा ।
‘अब आधा घण्टा मात्र ।’ – माकुरा जालबाट स्वर भन्किन्छ । हामी झिंगाहरूको आँखामा दही च्यूराका अतिरिक्त अन्य मिष्ठान्न पनि झङ्कृत हुन्छ ।
तैपनि हामीलाई भन्ने दुस्साहस हुन्छ । – ‘यहाँहरूलाई व्यर्थमा तकलीफ भयो ।’
‘त्यतिबेर बस्न र, यहाँहरूको पूजा छ ।’
‘हामी त घरका मान्छे, केही विशेष आयोजना नगर्नुभएको भएपनि हुने । हामी त भेटघाट गर्न मात्र आएका ।’
क्या क्वाँच ट्रेनिङ्ग पाइसके त चेलाहरूले ।
झण्डै डबल आधा घण्टापछि हामी भित्र लागिन्छौं । टुकीको अँध्यारोमा च्यूरा र तरकारी र सेलको बोहता समातेर हामी बसेका छौं । चुल्होमा चियादान भुल्किरहेछ । रामदाइ बल्ल हामीसँग मिल्न आएका छन् ।
‘क्या क्वाँच च्यूरा रहेछ हगि? एकदम चुरुम्–चुरुम्, यस्तो च्यूरा त दहीसँग पो क्वाँच मिल्छ ।’, रामदाइ मुखमा एक गाँस हाल्छन् ।
कोठाको अँध्यारोमा मौन पर्दा झन् लाग्छ । हामी परिस्थितिको संकेत बुझिहाल्छौं । हामी भन्छौं – ‘आ, यो च्यूरा यसै मीठा ।’
‘त्यै त शहरमा यस्तो कहाँ पाउनु?’
‘पाउनु? सुँघ्न पाए पुग्यो ।’, अँध्यारोमा माकुराजाल त देखिएन तर स्वरमा त्यत्तिकै मीठोपनलाई मुनीमजीले बोले – ‘छ न त थियो हजुर, सबै चीज देउतालाई चढाइसकियो, पूजा नसिद्दी झिक्नुभएन ।’
हामी क्वाँच हुन्छौं । र, चारैजनाको मुखबाट निस्किन्छ – ‘ठीक भन्नुभयो ।’
र, चारैजनाको मनमा जे जति पाइएको छ, त्यसको स्वाद बढ्छ । क्वाँच छर्लङ्ग भएर हामी आधा घण्टापछि निस्किन्छौं ।
सबैलाई पन्छाएर गुलगुलन्द दहको छेउमा पुग्दा हाम्रो हातमा फेरि जुनियर लहराइरहको हुन्छ ।
र, हामी राति एघार बजे घर पुग्दा क्वाँच बनेका थियौं ।
(शंकर लामिछानेको यो निबन्धलाई भैरवबहादुर थापाले आफ्नो कृति ‘समर्पण’ मा समावेश गरेका छन् ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया