काठमाडौँ– कलाकार नीर शाह राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेस वाग्मती प्रदेशबाट सिफारिस भएका छन् ।
गठबन्धन कायम रहे जित निश्चित भएकै कारण राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न सत्तारुढ दलमा रस्साकस्सी छ । यही रस्साकस्सीमा शाहको नाम पनि सिफारिस भएको हाे ।
यद्यपि उनलाई उम्मेदवार बनाउने बारे अन्तिम निर्णय भने पार्टीले गर्ने छ ।
चलचित्र क्षेत्रमा राजा कै नामले पुकारिने उनी गणतन्त्र स्थापनापछि नेपाली काँग्रेसबाटै राजनीति गर्दै आएका छन् । तर गत वर्षको प्रदेश सभाको चुनावमा पनि उनी उम्मेदवार बन्ने चर्चाका बिच उनले टिकट पाएका थिएनन् ।
त्यस्तै राष्ट्रिय सभामै पनि अघिल्लै कार्यकालका लागि शाह सिफारिस हुने चर्चा थियो । तर काँग्रेस सभापति शेरबहादुर देउवाको फाइनल लिस्टमा नपरेपछि उनी राष्ट्रिय सभा सदस्य बन्न पाएका थिएनन् । फलत : यो पल्ट पनि उनले बाजी मार्लान् त ? यसै भन्न सकिने अवस्था भने छैन ।
फिल्म ‘परिवर्तन’ बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका शाह सफल गीतकार समेत हुन् । नेपाली चलचित्र उद्योगको पहिलो पुस्ताका सक्रिय फिल्मकर्मी शाह टेलिभिजन क्षेत्रका समेत अग्रणी व्यक्तित्व हुन्। ‘वासुदेव’ ‘बसन्ती’ जस्ता फिल्म निर्देशन गरेका शाह पछिल्लो समय भने अभिनयमा मात्र केन्द्रित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया