काठमाडौँ– कोरोना भाइरसको महामारीपछि सिनेमा विश्लेषकहरूले अब सिनेमा हलको युग सकिने र ओटीटी प्लेटफर्मको युग शुरु हुने विश्लेषण गरेका थिए । तर, उनीहरूको विश्लेषण गलत साबित भएको छ ।
महामारीका बेला विश्वका सिनेमा घरहरू पूर्ण रूपमा बन्द गरिए । हल सञ्चालकहरू लामो समय महामारीको चपेटामा परे । यो बीचमा ओटीटी प्लेटफर्मबीच कडा प्रतिस्पर्धा भयो । लगानीकर्ताले ओटीटीमा लगानी बढाउन थाले भने हल नै सञ्चालनमा नआएपछि सिनेमा हेर्ने दर्शक पनि ओटीटीतर्फ स्वभाविक रुपमा आकर्षित भए ।
नेटफिल्क्स, अमेजन प्राइम, डिज्ने प्लस लगायतका अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्मले विश्वभर लोकप्रियता कमाए । महामारीको युग अन्त्य भएसँगै हल पुनः सञ्चालनमा आएका छन् । दर्शकले फेरि पहिलेजस्तै हलमै पुगेर सिनेमा हेर्न थालेका छन् भने मत्थर भएको सिनेमा निर्माण प्रक्रिया पनि पहिलेकै रफ्तारमा चलिरहेको छ ।
नेपालको कुरा गर्ने हो भने कोरोना महामारीका कारण प्रदर्शन हुन नपाएका कैयन् सिनेमाहरू अब प्रदर्शनको मिति तय गरेर पालो कुरेर बसेका छन् । प्रतीक्षित भनिएका सिनेमाहरू प्रदर्शनको तयारीमा छन् भने केही सिनेमा प्रदर्शन भइसकेका छन् ।
तर, निर्माण भइरहेका सिनेमाहरू सफल हुन्छन् भनेर अहिल्यै नै आँकलन गर्न सकिने अवस्था भने छैन । किनकि, खस्किँदै गएको नेपाली सिनेमाको घरेलु बजारलाई विदेशी सिनेमाको क्रेजले माथि उठ्न दिएको छैन ।
ओटीटी प्लेटफर्ममा दिमाग हल्लाउने विदेशी सिनेमा र वेब सिरिज हेरेका दर्शकले नेपाली सिनेमा पनि माथिल्लो स्तरका बनून् भन्ने अपेक्षा गरेका छन् तर मेकरले उनीहरूको अपेक्षा पूरा गरिदिन सकेका छैनन् । बरु मोनोटोनस बनाउने सिनेमा निर्माण गरेर सस्तो प्रचारबाजी गरिरहेका छन् ।
न त नेपाली सिनेमाको मेकिङ दमदार छ । न त नेपालमा कुनै त्यस्ता सिनेकर्मी छन्, जसले दर्शकको अपेक्षालाई पूर्ति गर्न सकून् । आशा गरिएका सिनेकर्मीहरू बरु बजार सुधारको प्रतीक्षामा छन् ।
नेपाली सिनेकर्मी तर्सिरहेका बेला विदेशी सिनेमाले भने नेपालका हलहरूबाट करोडौं रुपैयाँ बराबरको व्यापार गरिरहेका छन् । यो बीचमा रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी ४’ ले भने व्यापारमा तहल्का मच्चाएको रेकर्ड छ । बुद्ध धर्मलाई गलत प्रचार गरेको भन्दै गरिएको विरोधका बावजूद यो सिनेमाले २१ करोडको ग्रस कलेक्सन गरेको निर्माताको दाबी छ ।
यो सिनेमाले यति धेरै कमाइ गर्नुको कारण सिनेमा मात्र उत्कृष्ट भएर होइन । सिनेमाका अन्य सिरिजको क्रेज र कमेडी जनराका कारणले पनि यो सिनेमा हेर्न दर्शकहरू हलसम्म ओइरिएका थिए ।
लकडाउनपछि प्रदर्शनमा आएका अन्य सिनेमाहरू भने औसत व्यापारमै खुम्चिएका छन् । समीक्षकले ‘स्तरीय’ भनेर ट्याग दिएका सिनेमाहरू पनि दर्शकको रोजाइमा परेका छैनन् । बरु विदेशी सिनेमाको वर्चस्व दिनानुदिन बढ्दो छ । आखिर किन नेपाली सिनेमाले दर्शकको साथ पाउन सकेनन् र विदेशी सिनेमाले नेपालको पूर्ण बजार खोस्दैछन् भन्नेबारे व्यापक बहस आवश्यक छ ।
नेपाली समीक्षकहरू भन्छन्– सिनेमा समाजको ऐना हो । र, सिनेमाले हाम्रा आफ्ना कथाहरू बोल्न सक्नुपर्छ ।
उनीहरू भारतीय सिनेमा निर्माता रोहित सेट्टीका सिनेमालाई बरु राम्रो छ भन्छन् तर धुमधकडले भरिपूर्ण नेपाली सिनेमालाई ‘विना लोजिक’ निर्माण गरिएको भनेर धुनधान पार्छन् । उनीहरू लोजिक खोज्छन् ।
तर, पछिल्लो विश्वको सिनेमा बजारलाई हेर्ने हो भने लार्जर देन लाइफ (वास्तविकताभन्दा माथि रहेर निर्माण गरिएका) सिनेमाले विश्व बजारमा धमाका मच्चाएका छन् । यही ‘लार्जर देन लाइफ’ को अभ्यासले दक्षिण भारतीय सिनेमाले भारतको केन्द्रीय सिनेमा (बलिउड) बजारसँग नराम्ररी टक्कर लिइरहेको छ ।
हालै प्रदर्शनमा आएका दक्षिण भारतीय सिनेमा ‘पुष्पा’, ‘आरआरआर’ र ‘केजीएफ २’ ले आश्चर्यजनक हिसाबले सिनेमा बजारलाई तरंगित बनाएका छन् । नेपालमा पनि यी सिनेमाले भारी क्रेज बनाए । कोरोना महामारीले ग्रसित सिनेमा बजारलाई यिनै सिनेमाले एकाएक माथि उठाएका थिए भने नेपाली बजारबाट करोडौंको व्यापार गरेका थिए ।
नेपालमा दक्षिण भारतीय स्टार अल्लु अर्जुनको ‘पुष्पा’ रिलिज हुँदा मेकरहरू आफ्ना सिनेमा प्रदर्शन गर्न त्रसिरहेका थिए ।
बलिउडमा समेत दिगो छाप छोडेका यी सिनेमा सुपरहिट हुनुको पछाडि ‘लार्जर देन लाइफ’ को क्यानभासलाई मान्न सकिन्छ । यी बाहेक अन्य दक्षिण भारतीय सिनेमा पनि नेपालमा प्रदर्शनमा आए । त्यसपछि पछिल्लोपटक प्रदर्शनमा आएको कमल हासनको एक्सन थ्रीलर सिनेमा ‘विक्रम’ ले पनि दर्शकको मन जित्यो ।
यी सबै सिनेमामा एउटा समानता के छ भने, सिनेमाको नायक निकै बलियो छ । मानौँ, उसले भगवानको वरदान पाएको छ । र, आफ्ना दुष्मनहरूसँग ऊ एक्लै लड्न काफी छ ।
भारतमा मात्र होइन, यस्ता सिनेमा निर्माणमा हलिउड पनि एक कदम अगाडि छ । नेपालमा प्रदर्शन हुने हलिउड सिनेमाहरूमा मार्भल सिनेम्याटिक युनिभर्स, डिसीका सिनेमाहरूलाई पनि दर्शकले रुचाएका छन् । यी सिनेमामा कुनै एक हिरोसँग सुपरपावर हुन्छ । पृथ्वीमा हुने ठूलो जोखिमलाई ती हिरोहरूले ज्यानको बाजी लगाएर पार लगाउँछन् ।
यस्ता सिनेमाको बजार बढ्दै गइरहेका बेला नेपाली सिनेमा भने जतिसक्यो ‘अर्गानिक’ सिनेमा बनाउनुपर्छ भनेर बहस उत्पन्न हुने गर्छ । सबै खाले सिनेमा निर्माण गरिएनन् भने सिनेमा बजार नै धराशायी बन्दै जान्छ भन्ने यो गतिलो उदाहरण हो ।
नेपाली सिनेमा स्तरीय बन्न सकेनन् भनेर बहस शुरु भइरहँदा निर्माताहरू नेपालमा ठूलो बजेटको सिनेमा निर्माण गर्न बजार छैन भनेर तर्किने गर्छन् । तर, विदेशी सिनेमाले दशौँ करोडको नाफा कमाउँछन् । एकाध सिनेमाले राम्रो कमाइ गर्यो भने त्यही प्यार्टनका सिनेमा निर्माणको खडेरी लाग्ने अर्को समस्या पनि नेपाली सिनेमेकरको छ ।
यसवर्ष नेपालमै सर्वाधिक बढी कमाइ गरेर इतिहास रचेको दाबी गरिएको सिनेमा ‘कबड्डी ४’ कमेडी जनरामा निर्माण गरिएको थियो । अब यही जनरामा सिनेमा निर्माण गर्न मेकरको ओइरो लाग्छ । यसअघि रामबाबु गुरुङको ‘कबड्डी’ हिट भएपछि कमेडी जनरामा (अझ हेरिसकेको सिनेमाजस्तो लाग्ने सिनेमा) निर्माण गर्नेको ओइरो लाग्यो । तीमध्ये एकदमै कम सिनेमा मात्र व्यावसायिक रुपमा सफल रहे ।
नेपालमा निर्देशकले व्यावसायिक सिनेमा निर्देशन त गर्छन् तर त्यो सिनेमामा प्राण भरिदिन सक्दैनन् । सिनेमाको पटकथा, संवाददेखि हरेक प्लटमा समस्या हुन्छ । त्यही समस्याले सिनेमा त बन्छन् तर राम्रा सिनेमा बन्न सक्दैनन् ।
यसरी भनौँ, नेपालमा मेकरले बनाउँदैनन् । सिकारूले बनाउँछन् ।
नेपाली सिनेमाको बजार सानो छ भनेर तर्किने निर्देशकले पनि के बुझ्नुपर्छ भने स्क्रिप्ट गतिला नभएका सिनेमाहरू अहिले भारतमा पनि असफल भइरहेका छन् । जबकि, भारतीय सिनेमाले विश्व बजारमा आफूलाई पुर्याइसकेका छन् ।
एमके ग्लोबल फाइनान्सियल सर्भिसको एक रिपोर्ट अनुसार बलिउडमा पहिले कमजोर स्क्रिप्ट भएका सिनेमा पनि ठूला स्टारको स्टारडमका कारण हलसम्म दर्शक तान्थे । तर, अहिले दर्शकहरू निकै बाठा भइरहेका छन् । उनीहरूले सिनेमाको कन्टेन्टमा ध्यान दिइरहेका छन् ।
त्यसो त नेपालमा ‘कन्टेन्ट’मा आधारित सिनेमाहरू बन्दै नबनेका होइनन् । हालै प्रदर्शनमा आएको सिनेमा ‘पानीफोटो’ र ‘दोख’ लाई कन्टेन्टका आधारमा स्तरीय सिनेमाका रुपमा अपेक्षा गरिएको थियो । सिनेमाले समीक्षात्मक प्रतिक्रिया त पायो तर व्यापारिक सफलता हात पार्न सकेन ।
धेरै दर्शकको बुझाइमा यो सिनेमाले दर्शकलाई ‘फिल’ दिन सकेन ।
अर्को कुरा मेकरले के बुझ्न आवश्यक भइसकेको छ भने अब रोनाधोना गरेर हलमा दर्शक ल्याउन सकिँदैन । त्यो जमाना गइसकेको छ । अब नायिकाहरू रोएर, नक्कली फ्यानहरू खडा गरी उनीहरूलाई पनि रुवाएर सिनेमा चल्दैन ।
अब सिनेमा चल्न सबै पक्षबाट सिनेमा नै उत्कृष्ट बन्नुपर्छ ।
इन्टरनेटले दुनियाँ यति छोटो बनाइसकेको छ कि, हरेक भाषाका सिनेमा दर्शकले आफ्नै मोबाइल या कम्युटरको स्क्रिनमा सहजै हेर्न पाउँछन् । यस्तो सुविधाका बेला कसले टाउको दुखाएर नेपाली सिनेमा हेर्ने झण्झट गर्छ ?
नेपाली मेकरले अझै केही वर्ष यस्तै खालका सिनेमा मात्र निर्माण गरे भने सिनेमाको भविष्य योभन्दा पनि दयनीय हुन्छ । किनकि, कुनैबेला नेपाली सिनेमालाई बलिउडको मात्र ‘थ्रेट’ थियो । तर, अब भने दक्षिण भारतीय सिनेमा र हलिउड सिनेमातर्फ पनि नेपाली दर्शक आकर्षित भएका छन् ।
राम्रो मेकर भनेर चिनिएका दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमा ‘चिसो मान्छे’ हालै प्रदर्शन गरियो । यो सिनेमाले पनि व्यावसायिक सफलता हात पार्न सकेन । उनीजस्तै अलिक चिनिएका निर्देशक अनुप बराल, निश्चल बस्नेत, रामबाबु गुरुङ, प्रदीप भट्टराई, विनोद पौड्याल, साम्तेन भुटिया, दिनेश राउत लगायतले कमै सिनेमा निर्देशन गरिरहेका छन् ।
समीक्षकले मन पराएका अर्काथरी निर्देशकहरू मीनबहादुर भाम, नवीन सुब्बा, दीपक रौनियार लगायतले फेस्टिभलका लागि मात्र सिनेमा बनाइरहेका छन् ।
एकातिर दर्शकले विशुद्ध लभस्टोरी, स्वैर काल्पनिक, सस्पेन्स थ्रीलर र एक्सन सिनेमाको अपेक्षा गरेका छन् भने अर्कातिर मेकरले विना तयारी निर्माण गरिएका टिभी सिरियलजस्ता सिनेमा निर्माण गरिरहेका छन् ।
दर्शकको रोजाइ निर्देशकको रोजाइभित्र मतभिन्नता हुँदा नेपाली सिनेमाहरूको भविष्य निरश छ । शक्तिशाली हिरोका सिनेमाले बजार विस्तार गरिरहेका बेला हामी भने समाजका कमजोर पात्रका मात्र सिनेमा बनाउनुपर्छ भन्ने भाष्यमा अल्झिएका छौँ ।
विदेशी सिनेमाहरूले उडान भरिरहँदा नेपाली सिनेमा भने उस्तै कथा खोतलेर बामे सर्न प्रयासरत छ ।
अबको एक दशकमा नेपाली सिनेमामा भारी सुधार हुनेछ भन्ने त अपेक्षा गर्न सकिन्न तर यस्तै अवस्था सिर्जना भइरह्यो भने भोलिका दिनमा घरेलु हलमा नेपाली सिनेमाले भन्दा विदेशी सिनेमाले करोडौँको व्यापार गर्ने निश्चित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया