किन पर्छ चाया ? यी हुन चाया हटाउने पाँच घरेलु उपाय

Advertisement
Advertisement

मानिसको तालुको छाला मर्ने र नयाँ पैदा हुने क्रम निरन्तर चलिरहन्छ । यसरी तालुमा छाला मर्ने र नयाँ पैदा हुने क्रम जारी रहँदा टाउकोमा सेता, मसिना, फुस्रा दागहरू देखिन थाल्छन् ।

यसैलाई हामी चाया भन्छौँ । गर्मी मौसमको तुलनामा जाडोमा चायाको समस्या बढी हुन्छ । टाउकोमा अत्यधिक चाया पर्दा अरूका अगाडि लाजमर्दो स्थिति पैदा हुने, आत्मविश्वास गुम्ने र आत्मबल पनि कमजोर हुने अवस्था आउने हुन्छ । त्यसैले, चायालाई सही रूपमा व्यवस्थापन गर्नु राम्रो हुन्छ ।

हाम्रो तालुमा पिटिरोस्पोरम ओभली नामक फंगसको मात्रामा वृद्धि भयो भने चाया पर्छ भन्ने सवालमा छालासम्बन्धी धेरै विशेषज्ञ सहमत छन् । 

यसबाहेक चाया पर्ने केही कारण खुलाइएका छन् । हर्मोनमा हुने परिवर्तन, वंशाणुगत कारण, नुहाउन अल्छी गर्नु र अस्वस्थ शरीर, टाउकोमा धेरै पसिना आउने समस्या, अस्वस्थ खानपानलगायत चाया पर्ने कारण हुन् । 

यसैगरी, कपालमा विभिन्न रसायन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग, चिसो मौसम तथा घरभित्र तातो बनाउन पारिएको सुक्खा वातावरण, मानिसमा उत्पन्न भएको लामो समयदेखिको तनाव, थकान र चिन्ता, शरीरमा आउने एलर्जी वा हाइपरसेन्सिटिभिटीले पनि चाया निम्त्याउँछ ।

कसलाई बढी सताउँछ ?

चाया जुनसुकै उमेरमा पनि पर्न सक्छ । तर, यो विशेषगरी १२ देखि २० वर्षको उमेरमा बढी देखा पर्छ । सामान्यतः जाडो मौसममा यसले बढी सताउँछ । चिल्लो कपाल र चिल्लो तालुमा चाया बढी पर्छ । 

मानिसको तालु र कपालबाट धेरै तेल वा चिल्लो पदार्थ उत्पादन भयो भने चाया पर्ने सम्भावना बढी हुन्छ । त्यस्तै, मानिसमा देखिने केही रोगका कारण पनि चाया पर्ने गरेको पाइन्छ । 

रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसमा बढी चाया पर्ने गर्छ । यसका लागि केटोकोनाजोल प्रयोग गर्न सकिन्छ ।

चायाका कारण तालु नै रातो भयो, चिलाउन थाल्यो, त्यहाँबाट रगत आयो वा पोल्न पनि थाल्यो भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ । किनभने, यस्तो समस्या अनुहारसम्म सर्न पनि सक्छ । यदि तालुको केही भागको छाला खुइलिन थाल्यो, कपाल निरन्तर धेरै मात्रामा झर्न थाल्यो भने सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ ।

चायालाई पूरै निर्मूल पार्न सकिँदैन, तर यसको असरलाई निश्चित रूपमा कम गर्न भने अवश्य सकिन्छ । त्यसका लागि तनाव कम गर्दै लैजाने प्रयास गर्नुपर्छ । नियमित रूपमा कपाल स्याम्पुले धुनुपर्छ । 

कपाल सज्जा गर्ने विभिन्न किसिमका रसायनयुक्त साधन प्रयोग नगर्नु राम्रो हुन्छ । स्वस्थ खानेकुरा सेवन गर्ने, विशेष गरेर जंकफुड नखाने, चर्को घामबाट बच्ने र हिँड्नै परे पनि छाताको सहारा लिने गर्नुपर्छ । 

यसबाहेक निम्न घरेलु उपायबाट पनि चायाँ हटाउन सकिन्छ । जानौँ चायाँ हटाउने पाँच घरेलु उपाय :

ओटमील मास्क

ओटमीलमा कपाललाई पोषण दिने तत्वले भरिपूर्ण हुन्छ । यसले कपाललाई पोषणकाका साथै चायाँ पनि हटाउँछ । ओटमीलको हेयर मास्क बनउन सबैभन्दा पहिले आधा कप ओटमील, एक चम्चा बादामको तेल र चार चम्चा मन तातो दूध लिने ।

सबै सामग्रीलाई राम्रोसँग मिसाउने र गोलाकार शैलीमा कपालमा लगाएर मसाज गर्ने । एक घन्टासम्म उक्त मास्क कपालमा लगाई राख्ने । त्यसपछि मन तातो पानीले कपाल धुने । यो मास्क सातामा दुई पटक लगाउनु पर्छ । यसले कपालमा भएको चायाँ हराउँछ ।

दही–लेमन मास्क

दही र कागती भिटामिन सी को राम्रो स्रोत हो । दही र कागतीको मास्क कपालका लागि निकै फाइदाजनक हुन्छ । दही र कागतीको मास्क बनाउन एक कप दहीमा दुई चम्चा कागतीको रस र एक चम्चा मह राखेर घोल्ने र सो मास्कलाई कपालको जरामा लगाउने र केही समय सुक्न दिने ।

करिब एक घन्टापछि मन तातो पानीले कपाल धोएर नरिवलको तेल लगाउने । दही र कागतीले कपालमा भएको चायाँलाई हटाउँछ भने महले कपाललाई पोषण दिन्छ ।  

अडहुल फूलको मास्क

अडहुल (घण्टे) फूल बारे प्रायः सबैलाई थाहा होला । यो फूल पूजा गर्नका लागि प्रयोग गरिन्छ । रातो र गुलाफी रंगको अडहुलको फूल छाला र कपालको लागि लाभकारी मानिन्छ ।

यो फूलको मास्क बनाउन ६–७ वटा अडहुलको फूललाई पानीमा उमाल्ने र त्यसपछि पेस्ट बनाउने । अब उक्त पेस्टमा तीन चम्चा मन तातो नरिवलको तेल राखेर मिक्स गर्ने । तयारी पेस्टलाई कपालको जरामा लगाउने र हातले मसाज गर्ने ।  करिब दुई घन्टापछि कपाल राम्रोसँग धुने ।

अडहुलको फूलमा पर्याप्त मात्रामा भिटामिन सी र एमीनो एसिड पाइन्छ । जसले कपाललाई बलियो बनाउनुका साथै ड्यान्ड्रफरहित पनि बनाउँछ । अन्डा मास्क अन्डा कपालको लागि फाइदाजनक हुन्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । त्यसैले अन्डाको प्रयोग स्याम्पु बनाउनेहरूले पनि गर्ने गर्छन् ।

अन्डाको मास्क

अन्डाको मास्क बनाउन अन्डाको सेतो भागलाई छुट्याएर राख्ने । त्यसमा दुई चम्चा ओलिभ आयल राखेर राम्रोसँग घोल्ने । जब उक्त मिश्रण गाढा पेस्टमा परिणत हुन्छ त्यसपछि औँलाको सहायताले कपालको जरामा लगाउने । करिब आधा घन्टासम्म कपालमा लगाई राख्ने र त्यसपछि कपाल धुने ।

अन्डाले कपाललाई सिल्की बनाउनुका साथै चाँयाबाट मुक्त राख्छ ।  केराको मास्क केरा एक यस्तो फल हो जुन बाह्रै महिना सहजै पाइन्छ । केरामा विभिन्न प्रकारका औषधिजन्य गुण हुनाले कपाललाई पनि फाइदा पुर्याउँछ ।

केराको हेयर मास्क 

केराको हेयर मास्क बनाउनका लागि एउटा पाकेको केरालाई राम्रोसँग पेस्ट बनाउने । त्यसपछि सो पेस्टमा एक चम्चा मह, एक चम्चा कागतीको रस र एक चम्चा बदामको तेल राखेर घोल्ने । तयार पेस्टलाई राम्रोसँग कपालको जरामा लगाउने र करिब एक घण्टापछि धुने । यो हेयर मास्कले चायाँ हटाउनुका साथै कपाल मुलायम र चम्किलो पनि बनाउँछ ।

 (एजेन्सीको सहयोगमा)

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार