पानीको फोहराले नगलेकी सुबानी

Advertisement
Advertisement

केही दिनदेखि सामाजिक संजालमा एउटा तस्बिर निकै भाइरल छ, प्रहरीले बर्साएको पानीको फोहरासँग लडिरहेकी एक युवतीको । हेर्दा उनको लडाइँ फोहरासँग देखिए पनि खासमा उनी देशको फोहरसँग लडिरहेकी थिइन् । कोभिड–१९ (कोरोना संक्रमण) को महामारीसँगै नेपालीले भोगिरहेको राज्यको दुर्गन्धसँग । त्यसै क्रममा उनले फोहराको सामना गर्नुपर्यो ।

लामो समयदेखि अमेरिकामा बस्दै आएकी सुबानी सिजापती गत पुस १५ गते नेपाल आएकी आइन् । अमेरिकामा कोरोना संक्रमणको महामारी फैलँदै थियो । परिवार नेपालमा । यस्तो बेला उनलाई परिवार र देशको माया लाग्नु स्वाभाविक थियो । नेपालबाटै विश्वविद्यालयको अनलाइन कक्षा लिएर दिन बिताइरहेकी थिइन् । त्यत्तिकैमा उनलाई काठमाडौंबाहिर जान मन लाग्यो । अनि फागुन १७ गते आफन्तलाई भेट्न पुख्र्यौली थलो नवलपरासी गइन् । केही दिनपछि कामको सिलसिलामा चितवनको माडी पुगिन् । त्यतैबाट काठमाडौं फर्कने योजना थियो । तर, काठमाडौं फर्कने भनेकै दिन लकडाउन भयो । माडीबाट नवलपरासी नै फर्किन् । लकडाउन तोडेर काठमाडौं फर्कन मन लागेन । नवलपरासीमै ‘सेल्फ आइसोलेसन’मा बसिन् ।

प्रदर्शनकै लागि काठमाडौं

 

नवलपरासी छँदै उनी ‘कोभिड–१९ नेपालः इनाउफ इज इनाउफ’ फेसबुक ग्रुपमा जोडिएकी थिइन् । ग्रुपमा केही दिनदेखि युवाहरूको सक्रियतामा बालुवाटारमा भएको प्रदर्शनबारे जानकारी आइरहन्थ्यो । ग्रुपमार्फत उनले प्रदर्शन किन भइरहेको छ र यसमा कस्ता मानिसहरूको सहभागिता छ भन्ने थाहा पाइन् । युवाहरूले देशमा भइरहेको अनियमितता, भ्रष्टाचार र ढिलासुस्तीको विषयमा आवाज उठाउन प्रदर्शन गरिरहेको थाहा पाएपछि उनलाई पनि सहभागी हुन मन लाग्यो । तर टाढा थिइन् । छिटो काठमाडौं पुग्ने र प्रदर्शनमा सहभागी हुने इच्छा बढ्यो । काठमाडौं आउन कोरोना परीक्षणको रिपोर्ट अनिवार्य थियो । उनले कोरोना परीक्षण गराइन् । रिपोर्ट नेगेटिभ आएपछि नवलपरासीका प्रमुख जिल्ला अधिकारीसँग भेटेर पास बनाइन् र जेठ २५ गते काठमाडौं आइपुगिन् ।

सुबानीले काठमाडौं आएकै भोलिपल्ट बालुवाटारमा प्रदर्शन हुँदैछ भन्ने जानकारी पाइन् । आफू पनि प्रदर्शनमा सहभागी हुन्छु भन्नेबारे उनले बुबा–आमासँग कुरा राखिन् । अघिल्लो दिनमात्र काठमाडौं आएकाले केही दिनपछि गए हुन्थ्यो भन्ने आमाको अपेक्षा थियो । बुबाले भने आफूले सकेको सहयोग गर्ने भन्दै प्रोत्साहित गरे । उनले आमालाई पनि फकाएरै छाडिन् । उनी भन्छिन्, ‘मेरो बुबा जहिल्यै समाचार हेर्नुहुन्छ । उहाँलाई देशका लागि केही गर्नुपर्छ भन्ने लागिरहन्छ । पछिल्लो समय युवाहरू सडकमा उत्रिएर राज्यलाई खबरदारी गरिरहेको उहाँलाई निकै मन परेको रहेछ । त्यसैले मेरो निर्णयमा खुसी हुनुभयो ।’ परिवारका सबै सदस्यलाई राजी गराएर मंगलबार बिहान बालुवाटार पुगिन् ।

‘बेहोस भएछु’

बालुवाटारमा केही दिनदेखि पिसिआर परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने, लकडाउन खुकुलो र व्यवस्थित बनाउनुपर्ने, कोरोना रोकथामका लागि खर्च भएको भनिएको १० अर्बको हिसाब पारदर्शी ढंगले जनतालाई बुझाउनुपर्नेलगायतका मागका साथ प्रदर्शन भइरहेको छ । जसमा लकडाउनका बेला जनतासँग कर उठाउने उर्दी वारी गरेको, राष्ट्रपति कार्यालयमा महँगो कार्पेट फेरेकोजस्ता विषयको विरोध पनि मिसिएको छ । त्यही प्रदर्शनमा मंगलबार थपिएकी थिइन्, सुबानी ।

निर्देशिका नै बनाएर प्रदर्शन कसरी गर्ने भन्नेबारे सबैलाई ब्रिफिङ गरिएको थियो । अगुवाहरूले कुनै प्रकारको हिंसात्मक काम नगर्नू भन्ने निर्देशन दिएका थिए । निश्चित दूरी कायम गरिएको थियो । केहीले हातमा प्लेकार्ड बोकेका थिए भने कसैले ढाड र छातिमा पम्प्लेट टाँसेका थिए । सुबानी पनि मार्करले विभिन्न नारा लेखेको टिसर्ट लगाएर भुईंमा बसेकी थिइन् । प्रहरीले घर फर्कन चेतावनी दिइरहेको थियो ।

एक्कासी प्रदर्शनस्थलमा थुप्रै प्रहरी देखा परे र प्रदर्शनकारीलाई लखेट्न थाले । सुबानीलाई पनि धकेलिरहेका थिए, जानुस्–जानुस् भन्दै । त्यत्तिकैमा प्रहरीले प्रदर्शनकारीलाई निशाना बनाएर पानीको फोहरा बर्सायो । भागाभाग भयो । सुबानीको मनमा एकाएक ‘मैले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने’ भन्ने विचार खेल्यो । उनले आफ्नो बुबालाई सम्झिन् । बुबा भन्ने गर्थे, ‘हामी सबै एक–अर्कालाई दोष दिएर बस्छौँ । फलानोले यस्तो गरेन, उस्तो गरेन भन्छौँ । तर, जब आफैँ गर्ने समय आउँछ, पछि हट्छौँ ।’ त्यो सम्झेर उनको हौसला र ऊर्जा बढ्यो । र, पानीको फोहरासँग जुध्न थालिन् ।

 

पानीले उनलाई हानिरह्यो । दुख्यो पनि, तर पछि हटिनन् । फोहरा पनि रोकिएन । उनी लडिन् । त्यसपछि केहीबेर के भयो, थाहै पाइनन् । ‘म प्रहरीलाई सम्मान गर्छु । उहाँहरूको अपमान गर्न म फोहरासँग लडेकी थिइनँ । हाम्रो न्यायोचित प्रदर्शन दबाउन उनीहरूलाई पनि माथिबाटै अर्डर आएको हो भन्ने थाहा छ । तर, त्यतिबेला म पनि हाम्रो आवाजलाई पानीको फोहराले दबाउन सक्दैन भनेर आफ्नो सोचमा अडिग भइरहेँ’, उनले सुनाइन् ।

पुरै बेहोस त होइन तर अर्धचेत अवस्थामा थिइन् उनी । उनलाई गाह्रो भइरहेको थियो । दुखाइ महसुस गरिरहेकी थिइन् । प्रहरीले उठाएर लैजान लागेको थाहा पाइन् । लाग्यो– प्रहरीले आफूलाई अस्पताल लैजाँदै छ । तर, जब उनका साथीहरू प्रहरीबाट उनलाई खोस्न आइपुगे तब बुझिन्– अस्पताल लान होइन, पक्राउ पो गर्न लागिएको रहेछ भन्ने । साथीहरूले उनलाई छुटाएर ल्याए अनि सडकको एक छेउमा राखेर आराम गराए ।

उनी भन्छिन्, ‘त्यतिबेला मलाई थाहा थिएन र अहिले पनि थाहा छैन– मैले ठीक गरेँ कि गरिनँ । तर, मैले पानीको फोहरा खाएको भन्दा कैयौँ गुणा धेरै दुःख जनताले भोगिरहेका छन् । र, म उनीहरूको हक, हित र अधिकारका लागि सधैँ पानीको फोहरा खान तयार छु ।’

त्यतिबेला लागेको चोटले उनको शरीर दुखिरहेको छ । तर, चोटभन्दा बढी त उनको मन दुखेको छ । शान्तिपूर्ण रूपमा प्रदर्शन गरेर आफ्नो अधिकार माग्दा किन यसरी दमन गरियो ? उनको मनमा प्रश्न छ । यसबीचमा उनले धेरैको माया पाएकी छन् । सामाजिक संजालमा उनीप्रति देखाइएको सद्भाव होस् या परिवारले दिइरहेको प्रोत्साहन । यी कुराले मनोवल बढाइदिएको छ ।

२१ वर्षीया सुबानी साप्ताहिकसँग भन्छिन्, ‘मलाई पहिल्यैदेखि देशका लागि केही गर्नुपर्छ भन्ने थियो । तर, नेपालको परिवेश राम्रोसँग बुझेकी थिइनँ । अहिले परिवेश बुझ्न र त्यससँग भिज्न पाएँ । अब म पछि हट्दिनँ ।’

 

बुबाआमाबाट सिकेको पाठ

नेपालमा ७ कक्षा पास गरेपछि सुबानी थप अध्ययनका लागि अमेरिका गइन् १० वर्षअघि । स्कुल सकेर अहिले विश्वविद्यालयको तेस्रो वर्षमा पुगेकी छन् । नेपाल आउने–जाने गरिरहन्थिन् । आएका बेला ६–७ महिना बस्थिन्, अनलाइनमार्फत अध्ययन गर्थिन् । बुबाआमा यतै फर्किएका कारण पनि उनको नेपाल यात्रा छिटो–छिटो र बसाइ लामो हुन थालेको थियो ।

उनी बस्ने अमेरिकाको सन्फ्रान्सिस्कोमा नेपालीहरूको बस्ती बाक्लो छ । झन्डै ४ सय त नेपाली परिवारमात्र छन् । उनकी आमा सामाजिक कार्यमा पहिल्यैदेखि सक्रिय थिइन् । आमाकै सहयोगमा सुबानीले ‘नेपाली वुमेन अर्गनाइजेसन’ मा स्वयंमसेविकाको रूपमा काम गर्न थालेकी थिइन् । त्यहाँबाट समाजसेवा, महिला अधिकार र सामाजिक उत्तरदायित्व बुझ्ने मौका पाइन् ।

२०७२ सालमा नेपालमा गएको भूकम्पका बेला उनले सनफ्रान्सिकोमा रहेका नेपाली समुदायको घर–घरमा गएर चन्दा उठाएकी थिइन् । एकपटक लमजुङ गएका बेला गाउँमा पानीको समस्या देखेर उनले अनलाइन आह्वानमार्फत पैसा जम्मा गरेर सहयोग गरिन् । यस्तो सामाजिक कार्यमा आफ्ना बुबा (सुवास सिजापती) र आमा (सुस्मिता खड्का सिजापती) को सक्रियता देखेर उनी पनि सानैदेखि आकर्षित भएकी थिइन् । उनी भन्छिन्, ‘बुबाआमाले सानैदेखि मान्छे भएपछि आफ्नो लागि मात्र होइन, अरूका लागि पनि बाँच्नुपर्छ भनेर सिकाउनुभयो । त्यसैले मलाई अरूका लागि पनि केही गर्नुपर्छ भन्ने लागिरहन्छ । मान्छे भएपछि अर्काको दुःख पनि बुझ्नुपर्छ र अर्काको खुसीमा पनि खुसी हुन सक्नुपर्छ ।’ र, उनी त्यसकै लागि प्रयासरत छिन् ।

अमेरिका हुँदा पनि उनी नेपाललाई नियालिरहेकी हुन्थिन् । यहाँको राजनीतिक अस्थिरता र जनताले भोग्नुपरिरहेको समस्या सुनेर मन अमिलो हुन्थ्यो । ‘राज्य सबैभन्दा पहिला आफ्नो जनताप्रति उत्तरदायी हुनुपर्ने हो । तर, नेपालमा त्यो कुरा खड्किएको हो कि भन्ने लागिरहन्थ्यो । सरकार उत्तरदायी नहुँदा पनि नागरिक किन मौन छन् भन्ने कुरा पनि मनमा खेल्थ्यो’, उनले सम्झिन् । अहिले सुबानीले मनको प्रश्नको जवाफ पाएकी छिन् । जनता आवाज उठाउँदै सडकमा ओर्लिएका छन् । र, त्यसमा उनी पनि सहभागी छिन् ।

सुबानी आफूमात्र होइन, आफ्ना साथी र परिवारका सदस्यलाई पनि प्रदर्शनमा लाँदैछिन् । शुक्रबार साप्ताहिकसँग कुराकानी गर्दा उनलाई प्रदर्शनमा जान हतार भइसकेको थियो । र, उनीसँगै जाँदै थिए, उनका बुबा र केही साथीहरू । ‘देशको परिवर्तनकारी इतिहास रच्ने युवाहरूले नै हो । अब हामी युवाहरू नै जागेर भ्रष्टाचार, अन्याय र अत्याचारको विरुद्धमा लड्नुपर्छ’ हतारिँदै उनले भनिन्, ‘हामीले कुनै आन्दोलन गरेका होइनौँ । सरकारसँग प्रश्नको जवाफ मागेका हौँ । यो हाम्रो अधिकार र कर्तव्य हो भने जवाफ दिनु सरकारको जिम्मेवारी र कर्तव्य । जबसम्म जवाफ पाउँदैनौँ, तबसम्म प्रश्न गर्न पनि छाड्दैनौँ ।’ 



https://saptahik.com.np/wow-life/2020/06/12/1591967656

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार