22.12 °C
Kathmandu
लामो समय इभेन्ट म्यानेज्मेन्टको क्षेत्रमा सक्रिय रहेका इभेन्ट मेनेजर, फेसन डिजाइनर, मोडल तथा केही म्युजिक भिडियो तथा फिल्ममा समेत अभिनय गरिसकेका व्यक्तित्व हुन् फूपु तेन्जिङ शेर्पा । फेसन तथा मोडलिङको क्षेत्रमा झण्डै डेढ दशक लामो अनुभवलाई शेर्पाले यतिबेला फेसनका बारेमा अध्ययन–अध्यापन गराउने संस्थातर्फ केन्द्रित गरेका छन् । हुन त उनी अहिले पनि प्यासिफिक इभेन्ट म्यानेज्मेन्टमार्फत फेसन शो तथा सौन्दर्य प्रतियोगिताहरु आयोजना गरिरहेका छन्, यद्यपि पछिल्लो दुई वर्षदेखि उनी अत्याधुनिक फेसन स्कूल समेत सञ्चालन गरिरहेका छन् ।
दुई वर्षअघि बागबजारस्थित बागबजार प्लाजामा उनले सञ्चालन गरिरहेको ईन्टरनेशनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजी (आईआईएफीटी स्कूल अफ फेसन) मा उनले पाँच सय भन्दा बढि युवा–युवतीहरुलाई फेसन डिजाइनिङको प्रशिक्षण दिलाइसकेका छन् । व्यवसायिक फेसन डिजाइनरहरुले अध्यापन गराउने उक्त फेसन स्कूल, युवापुस्तामा फेसनको क्रेज, फेसनेवल बन्ने प्रतिस्पर्धाका सम्बन्धमा केन्द्रित भएर शेर्पासंग गरिएको कुराकानीको सम्पादित अंशः
फेशनलाई कसरी परिभाषित गर्न चाहनु हुन्छ ?
कुनै पनि डिजाइनरले उत्पादन अथवा तयार परेको बस्तुलाई उपभोक्ताले सामाजिक, भौगोलिक, सांस्कृतिक तथा आर्थिक दृष्टिकोणले ठिक छ भनि स्वीकारेर प्रयोगमा ल्याउँछ भने त्यसैलाई फेसन भनिन्छ ।
फेसन डिजाइनिङको अध्यापन गर्ने विद्यार्थीहरु मध्ये यसैमा करियर बनाउनेहरुको संख्या कस्तो रहन्छ ?
जनमानसमा यो विषय अध्ययन गरेपछि बुटिक खोल्ने भन्ने मात्र बुझ्नु भएको छ । वास्तवमा फेसन डिजाइनिङको पूर्ण रुपले ज्ञान लिनु भएका डिजाइनरहरुले ठूलो परिणाममा पोशाक निर्माण गर्ने गार्मेन्ट फ्याक्ट्रि खोलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ती पोशाकहरु विक्रि–वितरण गर्न सक्छन् । कतिपय डिजाइनरहरु चलचित्रदेखि म्युजिक भिडियोहरुमा ड्रेस डिजाइनरको रुपमा काम गर्न सक्छन् । भिजुअल मर्चेन्डाइजरको रुपमा काम गर्न सक्छन् । गार्मेन्ट उद्योगमा प्रोडक्सन तथा क्वालिटी कन्ट्रोलर जस्ता अन्य अनेक भूमिकामा काम गर्न सक्छन् ।
फेसन डिजाइनिङको अध्ययन गर्नेहरुमा पुरुषको तुलनामा महिलाहरुको संख्या बढि हुने कारण के होला ?
केही अध्ययनहरुमा पुरुषभन्दा महिलाहरु फेसनप्रति बढी लगाब र झुकाव रहने पाइएको छ । यसका साथै फेसन डिजाइनिको करियरमा शारीरिक परिश्रम धेरै नहुने भएकोले पनि होला, यसप्रति धेरै महिलाहरुको झुकाव देखिन्छ ।
फेसन डिजाइनिङको अध्ययन गरेर तथा अध्ययन नै नगरी बुटिक खोलेर बस्ने फेसन डिजाइनरहरुमा के फरक छ ?
सबैभन्दा पहिले बुटिक भनेको के हो भन्ने कुरा बुझ्नु जरुरी छ । एउटा डिजानरले बनाएको आफ्नो मौलिक उत्पादनलाई सम्भावित उपभोक्ताहरुलाई देखाउने हेतुले खोलिएको आकर्षक शो रूमलाई बुटिक भनिन्छ । मौलिक वस्तुको उत्पादन गर्नको लागि त्यससंग सम्बन्धि पूर्ण ज्ञान हुनै पर्छ । तसर्थ पसलको बाहिर बुटिक लेख्दैमा त्यो बुटिक हुन्न । किनभने मौलिक रुपले आफ्नो कलालाई लामो समयसम्म त्यो शो रूममा परिपूर्ति गरि राख्नको लागि एउटा दक्ष्य डिजाइनरबाट मात्र सम्भव छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?