25.12 °C
Kathmandu
काठमाडौं – कुनै समय थियो, जतिबेला अभिनेता आर्यन सिग्देलले फिल्म क्षेत्रमा एकपछि अर्को हिट सिनेमा दिएका थिए । चकलेटी अनुहारका आर्यन ‘लभर ब्याय’ बनेर धेरैको मनमा बसेका थिए ।
चकलेटी आभाका नयाँ पुस्ताको आगमनसँगै आर्यनको क्रेज विस्तारै खस्किँदै गयो । भलै अहिले पनि आर्यनले प्रेमी बनेर सिनेमामा अभिनय गरिरहेका छन् ।
आर्यनले अभिनय गरेकामध्ये धेरै सिनेमामा उनी ‘लभर ब्याय’कै भूमिकामा छन् ।
पछिल्ला केही वर्ष आर्यनले शीर्ष भूमिका निभाएका सिनेमा ‘कायरा’, ‘हजार जुनीसम्म’ मा पनि उनी लभर ब्यायकै भूमिकामा छन् ।
निर्माणको घोषणा गरिएको आर्यनको प्रतीक्षित सिनेमा ‘डिसेम्बर फल्स’ मा पनि उनी प्रेमीकै भूमिकामा देखिँदैछन् । सिनेमामा आर्यन र उपासना सिंह ठकुरीको जोडी देख्न सकिनेछ ।
आर्यन शारीरिक रुपमा फिट रहनमा खासै ध्यान दिँदैनन् । कति फिल्म त उनले फिल्मको माग अनुसार शरीर फिट बनाउन नसक्दा छोड्नु समेत परेको छ ।
आर्यनको शीर्ष भूमिका रहेको सिनेमा ‘मेरो एउटा साथी छ’ को अझै पनि चर्चा हुने गर्छ । जबकि, यो सिनेमा निर्माण भएर प्रदर्शनमा आएको पनि एक दशक भइसकेको छ ।
सिनेमामा आर्यनले नायिका नम्रता श्रेष्ठसँग स्क्रिन शेयर गरेका थिए । यही सिनेमाले उनलाई ‘लभर ब्याय’ का रुपमा चिनाएको थियो ।
पछिल्लो समय भने आर्यन प्रेमीको भूमिकामा त्यति रुचाइएका छैनन् । आर्यनको कमब्याक भनिएको सिनेमा ‘कायरा’ ले दर्शकलाई खासै सन्तुष्टि दिन सकेन । सिनेमामा उनले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग स्क्रिन साझेदारी गरेका थिए ।
सिनेमाले उनलाई खासै चर्चा दिलाएन । न त त्यसपछि रिलिज भएका सिनेमा ‘चच हुई’ र ‘हजार जुनीसम्म’ ले नै उनलाई चर्चा दिलाए ।
‘हजार जुनीसम्म’ मा उनले १४ वर्षदेखि प्रेममा अल्झिएको एक प्रेमीको भूमिका निर्वाह गरेका थिए ।
सिनेमामा भूमिकाका बारेमा आर्यन भन्छन्, ‘सिनेमामा म त्यस्तो चरित्रमा छु, जसले आफ्नो प्रेमका लागि १४ वर्ष गुजार्छ ।’
यद्यपि यो सिनेमाले आर्यनलाई ‘लभर ब्याय रिलोडेड’ बनाउन सकेन । तर, आर्यन भने आफूलाई अझै पनि दर्शकले लभस्टोरी सिनेमामा रुचाउने बताउँछन् ।
‘मलाई दर्शकले लभस्टोरी सिनेमामै अभिनय गरेको हेर्न रुचाउनुहुन्छ,’ उनी भन्छन् ।
हुन त आर्यनले एक दशक लभस्टोरी सिनेमामा अभिनय गरेरै चर्चा बटुलेका हुन् ।
‘डिसेम्बर फल्स’ मा पनि आर्यन एक प्रेमीकै भूमिकामा हुनेछन् । सिनेमामा उमेर अन्तर भएका एक जोडीको प्रेमकथाको परिकल्पना गरिएको छ ।
‘मेरो पहिले र अहिले सिनेमा गर्ने शैलीमा खासै फरक छैन, म पहिले जस्तो थिएँ, अहिले पनि त्यस्तै छु,’ आर्यन भन्छन् ।
उनी अफर आयो भन्दैमा आफ्नो करिअर (वृत्ति) लाई असर पर्ने सिनेमामा अभिनय नगर्ने बताउँछन् । दर्शकले आफूलाई विश्वास गरेर सिनेमा हलसम्म जाने गरेको उनको बुझाइ छ । त्यसैले दर्शकले गाली गर्दा पनि उनलाई हौसला मिल्छ ।
आर्यन सिनेमा मनोरञ्जनका लागि निर्माण गरिनुपर्ने दाबी गर्छन् । उनका अनुसार सिनेमा भनेको दिमागमा भारी नपर्ने र आँखालाई शीतल हुने हुनुपर्छ ।
‘दर्शकलाई नेपालमा राम्रा सिनेमा बन्छन् भन्ने विश्वास छैन, बरु अब हामीले दर्शकलाई नेपालमा पनि राम्रा सिनेमा निर्माण हुन्छन् भनेर विश्वास दिलाउन सक्नुपर्छ,’ आर्यन अहिलेको सिनेमा बजारबारे विश्लेषण गर्छन् ।
पछिल्लो समय उनले शीर्ष भूमिका निर्वाह गरेका केही सिनेमाहरु व्यावसायिक हिसाबले असफल छन् । तर, केही सिनेमा असफल हुँदैमा करिअर नै सकियो भनेर तर्क गर्न नहुने आर्यन सुनाउँछन् ।
कतिपयले भने आर्यनलाई करिअर सकिँदै गएको भन्दै टिप्पणी गर्ने गर्छन् । आर्यन भने यस्ता आरोपहरुको खण्डन गर्छन् ।
‘जसरी पहिले काम गरिरहेको थिएँ, त्यसरी नै अहिले गरिरहेको छु, एउटा सिनेमा नचल्दैमा करिअर सकिन्छ र ?,’ उनी भन्छन् ।
अभिनय क्षेत्रबाहेक अरु क्षेत्रमा जानकार नभएको बताउँदै आर्यन यही क्षेत्रमा निरन्तर काम गर्ने बताउँछन् । आफ्नो समयका कतिपय कलाकार विदेश भासिए पनि आर्यन भने नेपालमै बस्ने बताउँछन् ।
‘सकभर नेपालमै केही गरौँ भन्ने छ, नेपालमै रमाइलो लाग्छ, मलाई,’ आर्यन भन्छन्, ‘भोलिको बारे चाहिँ अहिले नै केही भन्न सकिन्न, किनकि नेपालमा कलाकारको अवस्था कस्तो छ भन्ने त सबैलाई थाहा छ ।’
निरन्तर अभिनय क्षेत्रमै बिताउन चाहे पनि आफू नम्बर वान बन्ने दौडमा कहिल्यै नलागेको आर्यन बताउँछन् । बरु उनलाई अरु सिनेमामा भन्दा प्रेमकथाका सिनेमा बढी रमाइलो लाग्ने गर्छ ।
‘म यहाँ स्टार हुन आएको होइन, नम्बर वान बन्नु पनि छैन, मलाई त आर्यन सिग्देल भएर भोलिसम्म रहनु छ,’ उनी सुनाउँछन् ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?