मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सूचना प्रविधि

भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबको सफलताको कथा, कसरी बन्यो बादशाह?

काठमाडौं– पछिल्लो दुई दशकमा संसारभर प्रविधिको क्षेत्रमा कैयन् परिवर्तनहरु भएका छन् । केही दशकअघि सम्म हामीले अहिले जसरी सहज तरिकाले मोबाइल डिभाइसमा भिडियो हेरिरहेका छौँ, त्यो सुविधाको अझै विकास भइसकेको थिएन ।

त्यतिबेला टेलिभिजन र सिनेमाको पर्दामा मात्रै भिडियो हेर्न मिल्ने सीमित सुविधा थियो । क्यासेट तथा टेप रेकर्डरमा गीत सुन्न सकिने अवस्था थियो । अहिले भने युट्युबमा तपाईंले चाहेको गीत एकैछिनमा खोजी गरेर हेर्न तथा सुन्न सक्नुहुन्छ ।
अहिले दुनियाँ नै डिजिटल बाटोतर्फ अगाडि लम्किरहेको छ ।

केही दशकअघिसम्म नेपालमा युट्युबका बारे कमैलाई मात्र थाहा थियो । अहिले भने धेरैका लागि युट्युब इन्टरनेटमा भिडियो हेर्नका लागि सबैभन्दा उत्तम विकल्प बनेको छ ।

आर्थिक हिसाबले पनि युट्युबमार्फत आम्दानी गर्न सकिने भएकाले अहिले धेरै कलाकार तथा कन्टेन्ट क्रियटरले युट्युबबाटै गीत, भिडियो, फिल्म, डकुमेन्ट्री तथा सिरिजहरु रिलिज गर्ने गरेका छन् ।

अहिले नेपालमा मात्र होइन, विश्वभर नै नयाँ म्युजिक भिडियो रिलिज गर्नका लागि युट्युब नै सशक्त माध्यम बनेको छ । नेपालमा त अहिले पनि हलमा रिलिज भइसकेका कैयन् फिल्म युट्युबमार्फत नै रिलिज गरिने परिपाटी छ ।

त्यसो त पछिल्लो समय फिल्म तथा सिरिजका लागि युट्युबको विकल्पमा थुप्रै ओटीटी प्लेटफर्महरु आएका छन् । यता युट्युबमा पनि केही रकम तिरेर फिल्म हेर्न पाइने सुविधा छ ।

भिडियोका लागि उत्कृष्ट माध्यम बनेको युट्युबको उदय कसरी भयो भन्ने बारेमा हामीले चर्चा गर्न गइरहेका छौँ ।

युट्युबको उदय

सन् २००५ को अप्रिलमा २३ मा पहिलोपटक युट्युब सार्वजनिक गरिएको थियो । त्यतिबेला इन्टरनेटको उदय तीव्र गतिमा भइरहेको थियो । अहिले युट्युब सञ्चालनमा आएको १८ वर्ष भइसकेको छ ।

यो बीचमा युट्युबमा कैयन् परिवर्तन भए । समायानुल परिवर्तन ल्याउनमा युट्युब सधै अगाडि छ । उसले बेलाबेलामा आफ्नो सुरक्षा र नीतिमा पनि परिवर्तन गरिरहन्छ ।

छोटो समयमा नै व्यापक सफलता पाउनेमा युट्युब पनि अग्रपङ्तिमा आउँछ । अहिले युट्युब संसारका ८८ देशमा ७५ भाषामा प्रयोग गर्न सकिन्छ ।

युट्युबलाई पेपलका कर्मचारी स्टिभ चेन, चाड हर्ली र जावेद करिमले सन् २००५ मा संयुक्त रूपमा स्थापना गरेका थिए । त्यसपछि युट्युब एक वर्षमै यति लोकप्रिय भयो कि, सन् २००६ को नोभेम्बरमा प्रविधि क्षेत्रकै अर्को प्रतिस्पर्धी कम्पनी गुगलले खरिद गर्‍याे ।

गुगलले खरिद गरेपछि अहिले युट्युब गुगलकै एकाउन्टबाट लगइन गरेर सहजै प्रयोग गर्न सकिन्छ । त्यसो त युट्युबले कुनै खाता प्रयोग नगरेर पनि उपयोग गर्न सकिने सुविधा दिएको छ ।

युट्युबबाटै कन्टेन्ट क्रियटरले लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् । त्यसैले पनि धेरै कन्टेन्ट क्रियटरले युट्युबलाई नै आफ्नो आम्दानीको स्रोत बनाइरहेका छन् ।

रोचक कुरा त के छ भने युट्युबले आफ्ना कन्टेन्ट बनाउँदैन । तर, क्रियटरमार्फत उसले अर्बौं डलर आम्दानी गरिरहेको छ ।

मी एट द जू

युट्युबमा अपलोड गरिएको पहिलो भिडियो थियो– मी एट द जू ।

यो भिडियो युट्युबका संस्थापक जाभेद करीमले अपलोड गरेका थिए । उनले यो भिडियो सन् २००५ को २३ अप्रिलमा अपलोड गरेका थिए । जम्मा १८ सेकेन्डको उक्त भिडियो अहिले पनि उत्तिकै खोजी गर्ने गरिन्छ ।

उक्क्त भिडियोमा युट्युबका संस्थापक जाभेद स्वयंलाई देख्न सकिन्छ । जाभेदद्वारा अपलोड गरिएको सो भिडियो उनकै साथी याकोभ लापित्स्कीले खिचेका थिए ।

अमेरिकाको सानडिएगो सहरमा रहेको एक चिडियाखानामा पुगेका जाभेद उक्क्त भिडियोमा त्यहाँ रहेका हात्तीहरुको अगाडि उभिएर हात्तीका बारेमा कुराकानी गरिरहेको भिडियोमा देख्न सकिन्छ ।

हात्तीको सबैभन्दा रोचक कुरा नै यसको सुँड लामो हुने भन्दै उनले भिडियोमा बताएका छन् ।
आजभोलि युट्युबमा एक मिनेटमा झण्डै २५ सयवटा भिडियोहरु अपलोड भएको पाइन्छ । युट्युबले प्रयोगकर्ताका सबै भिडियोलाई आफ्नो सर्भरमा सुरक्षित रुपमा राखेको हुन्छ ।

युट्युबले दिने सुविधा

युट्युबले प्रयोगकर्ताहरूलाई भिडियो सामग्री अपलोड गर्न, अवलोकन, मुल्याङ्कन, साझेदारी गर्न, उजुरी गर्न, भिडिओमा टिप्पणी गर्न, र अन्य प्रयोगकर्ताहरूको सदस्यता लिने सुविधा दिएको छ ।

यसले प्रयोगकर्ताद्वारा उत्पादित सामग्रीहरूको विविधता प्रदान गर्दछ । त्यस्तै उसले विश्वको बढ्दो विकासक्रमलाई मध्यनजर गर्दै प्रयोगकर्ताहरूको माग र आश्यकता अनुसारको नयाँ नयाँ फिचर्सहरु पनि उपलब्ध गराउँदै आएको छ ।

जस्तै प्रयोगकर्ताहरूको टिकटकप्रतिको बढ्दो आर्कषणलाई ध्यानमा राख्दै युट्युबमा पनि संक्षिप्त भिडियो राख्न मिल्ने सुविधा दिइएको छ । अहिले युट्युबमा पनि टिकटकमा जस्तै पन्ध्र सेकेन्डको भिडियो राख्न मिल्ने सुविधा छ । जसलाई शर्टस् भनिन्छ ।

युट्युबमा उपलब्ध सामग्रीले संक्षिप्त भिडिओ मात्र होइन, टेलिभिजन कार्यक्रमका दृश्य, म्युजिक भिडियो, लघु फिल्म, डकुमेन्ट्री, पोडकास्ट, मनोरञ्जनात्मक भिडियो, शैक्षिक भिडियो जस्ता सामग्री पनि समावेश गर्ने गरेको छ ।

युट्युबबाट आम्दानी
धेरैलाई थाहा नहुन सक्छ । युट्युबबाट पनि मासिक लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ । यसका लागि तपाईले युट्युबका केही शर्तहरु स्वीकार गर्नुपर्ने हुन्छ ।

युट्युबमार्फत आम्दानी गर्नका लागि सबैभन्दा पहिले तपाईंको युट्युब च्यानलमा कम्तिमा एक हजार सब्सक्राइबर पुगेको हुनुपर्छ भने उक्त च्यानलमा चार हजार घण्टा भिडियो हेरिएको हुनुपर्छ ।

त्यसपछि च्यानललाई मोनिटाइज गर्न सकिनेछ । त्यसपछि भिडियोमा देखिने विज्ञापनका आधारमा तपाईंले आम्दानी गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?